विराटनगर । सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल विरुद्धको ठगी आरोप अनुसन्धान १२ दिनमै सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
पहुँचवाला भएका कारण प्रहरीले हतार–हतार अनुसन्धान सकाएर मंगलबार नै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
सामान्य मुद्दामा २५ दिन हिरासतमा राखेर अनुसन्धान हुन्छ । तर, सामान्य मान्छेका हकमा मात्रै प्रहरीले यो विधि प्रयोग गर्छ । प्रहरीले ठगी मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि २५ पुसमा पोखरेल आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए । तर, ठगी गरेका उनीमाथि अनुसन्धान गराउन पीडितले धेरै वर्ष संघर्ष गर्नु परेको थियो ।
मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिलले पार्टीको कोटामा एमबीबीएस भर्ना गरिदिने भन्दै सप्तरीका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । सुरुमा प्रहरीले अनुसन्धान गर्न मानेको थिएन । उच्च अदालतले अनुसन्धान गर्न आदेश दिएपछि मात्रै प्रहरीले अनिलविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
फोटो:फाइल