विराटनगर । नोबेल अस्पताल विराटनगरको बाहिरी परिसरमा सञ्चालित फार्मेसी माध्यम भएर सेवाग्राहीसँग स्वास्थ्य सेवा बिचौलियाको काम गर्दै आएका आठजनालाई प्रहरीले पक्राउ गरेको छ । फार्मेसीको आडमा विभिन्न सम्पर्कमार्फत टिचिङ अस्पतालमा आएका बिरामीको उपचारमा सहयोग गर्ने नाममा दलाली गर्नेहरुलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।
बिचौलियाहरुले मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा उपचार सहजीकरणको नाममा बाहिरै पैसा दलाली गरेर भर्ना गर्नेदेखि औषधीसम्म उपलब्ध गराउँदै आएका छन् । एम्बुलेन्स, सिटी सफारी, गाउँगाउँका मेडिकल पसल तथा क्लिनिकमा समेत सम्पर्क बढाएर नोबेल अगाडीका फार्मेसी सञ्चालकले सञ्जाल बनाई सेवाग्राहीलाई ठग्ने गरेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको थियो ।
प्रहरीले यसरी दलाली गर्नेहरुको पहिचान गरेपछि आइतबार दिउँसो एकैपटक उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा रहेका उनीहरुसँग अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा सोधपुछ भईरहेको छ । पक्राउ परेका व्यक्तिहरुको विषयमा थप विवरण प्रहरीले खुलाएको छैन ।