विराटनगर । विराटनगरमा आश्रीत नागरिक लक्षित गरेर स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्यको पहुँचसम्म आफैं पुग्न नसक्ने नागरिकलाई लक्षित गरेर महानगरपालिका र स्वास्थ्य कार्यालय मोरङको समन्वयमा बृद्धाश्रम, धर्मशाला र पुर्नस्र्थापना केन्द्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका तथ्यांक अधिकृत दिपक भट्टराईका अनुसार माघ १० गतेदेखि सुरु भएको स्वास्थ्य शिविर बुधबार (माघ २३) मा सम्पन्न भएको छ । नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा रेडियोलोजिष्ट, फिजिसियन, छाला रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ, नाक, कान, घाँटी रोग विशेषज्ञसहितको स्वास्थ्य सेवा आश्रीत नागरिक बसेको स्थानमा दिइएको हो । यसैगरी यसैगरी पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित सेवा करुण फाउण्डेशनमार्फत उपलब्ध गराएको हो ।
छ स्थानमा बसोबास गर्दै आएका ४१२ जना नागरिक लक्षित सेवामा विराटनगर–८ स्थित विराटेश्वर बृद्धाश्रम ४७ जनाको परीक्षण गरिएको थियो । यसैगरी विराटनगर–३ स्थित मानव सेवा आश्रममा ६३ जनाले सेवा लिएका थिए । जसमा सुगर प्रेसर जाँच ३९ जना र २४ जनाको मानसिक रोग सम्बन्धी परीक्षण तथा १० जनाको आँखा परीक्षण गरिएको थियो । जेष्ठ नागरिक वडा समिति तथा योगध्यान केन्द्र विराटनगर–११ मा ६२ जनाको परीक्षण गरिएको थियो । जसमा ३५ जनाको नाक,कान, घाँटी, ४० जनाको छाला तथा ४५ जनाको भिडियो एक्स–रे सेवा लिइएका थिए । यसैगरी विराटनगर १३ स्थित पूर्वाञ्चल बाल सेवा आश्रममा ५१ जनाले एकिकृत बालरोग सेवा दिइएको थियो । त्यहाँ आश्रीतमध्ये ४० जनाको इएनटी परीक्षण, ३५ जनाको आँखा, १४ जनाको सुगर, १४जना प्रेसर जाँच गरिएको जानकारी दिइएको छ ।
यसैगरी ज्येष्ठ नागरिक हातेमालो समाज विराटनगर–३ मा ९७ जनाले फिजिसियन, ८२ जनाले आँखा, ५२ जनाको इएनटी, ४६ जना छाला, १० जना भिडियो एक्स–रे लिएका थिए । विराटनगर १० स्थित मानव सेवा आश्रममा बुधबार भएको शिविरमा ५८ जनाले सुगरप्रेसर, ४८ जनाले फिजिसियन, ३४ जनाले इएनटी, ३७ जनाले मानसिक र आँखा ३३ जनाको जाँच गरिएको थियो ।