विराटनगर नहर छेउमा मापदण्ड विपरीत नाला निर्माण भएको स्थानीयको गुनासो

<span class='c1'>विराटनगर नहर छेउमा मापदण्ड विपरीत</span> <span class='c2'>नाला निर्माण भएको स्थानीयको गुनासो</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ मा रहेको नहर छेउमा नाला निर्माण कार्य मापदण्डविपरीत भइरहेको स्थानीयले गुनासो गरेका छन् । तर, महानगरपालिकाले यसको प्राविधिक पक्ष कमजोर नरहेको दावी गर्दै प्लम कंक्रिट प्रविधिको प्रयोग गरिएको जानकारी दिइएको छ ।

प्राविधिक मापदण्ड पूरा नगरी निर्माण कार्य भइरहेको स्थानीयले गुनासो गरेका छन् । नालाको रिटेनिङ वालमा ठूला ढुङ्गाको प्रयोग भएको गुनासो गरिएपनि यसको मापदण्ड पूरा गरिएको महानगरपालिका शहरी पूर्वाधार विकास महाशाखाले जनाएको छ ।

तर, निर्माणको जिम्मा लिएका मिस्त्री अरबिन्द रायले एक आरी सिमेन्ट, चार आरी बालुवा, र दुई आरी गिट्टी मिसाउनु पर्ने मापदण्ड भएपनि स्थानीयले त्यसमा असन्तुष्टि जनाएपछि मसला फेरिएको बताए । उनका अनुसार स्थानीयले गिट्टी बढी हालेको भन्दै विरोध जनाएपछि सिमेन्ट, बालुवा र गिट्टीको अनुपात क्रमशः १ः८ः १ बनाउनु परेको हो । गिट्टीको मात्रा घटाएर बालुवाको मात्रा बढाउँदा निर्माण कमसल हुने बताउँदा समेत स्थानीयले नमानेको उनले बताए ।

उक्त रिटेनिङवाल निर्माण गर्दा मापदण्ड अनुसार ६ आरी गिट्टी, २ आरी बालुवा र एक आरी सिमेन्टको प्रयोग गरिएको विराटनगर ११ का प्राविधिक विकेस बजगाईले जानकारी दिए ।

प्राविधिक मापदण्ड अनुसार प्लम कंक्रिटमा एक ढुङ्गादेखि अर्को ढुङ्गाको बीचमा कम्तिमा १५ सेमी दूरी कायम राखी ढुङ्गाहरू बीचको खाली ठाउँ कंक्रिटले भर्नुपर्ने हुन्छ ।

निर्माणाधिन योजनामा रिटेनिङ वालमा १५ सेमी दूरी कायम राखी ढुङ्गाहरू बीचको खाली ठाउँमा कंक्रिट नहालेको आरोप छ । प्राविधिक मापदण्ड अनुसार प्लम कंक्रिट निर्माणमा १५०–३०० मिमी आकारका साफ, कडा र बलियो ढुङ्गाहरू प्रयोग गर्नुपर्छ । ढुङ्गाको साइज ठूलो भएको खण्डमा त्यसलाई सानो बनाई र कमसल भाग हटाएर मात्र प्रयोग गर्नुपर्ने हो। साथै पहिले कंक्रिट मिश्रणको एक तह (लगभग १५–२० सेमी) राखेर मात्र प्लम (ठूला ढुङ्गाहरू) राख्नुपर्छ। निर्माण प्रक्रियामा कंक्रिट र ढुङ्गामा भाइब्रेटर प्रयोग गरी ढुङ्गाहरू बीचको खाली स्थान कंक्रिटले भर्नुपर्नेमा त्यसो नगरेको आरोप छ । प्लम कंक्रिट गर्दा कुल आयतनको लगभग ३०–४० प्रतिशतसम्म मात्र प्लम (ढुङ्गा) प्रयोग गर्न सकिन्छ। अर्थात् ४० प्रतिशत ढुङ्गा र ६० प्रतिशत कंक्रिट प्रयोग भएको हुनुपर्छ।

महानगरपालिकाका इन्जिनियरहरु भने एक ढुंगादेखि अर्को ढुंगाको खाली भागमा राख्नुपर्ने मसला नराखी अडिन नसक्ने दावी गर्दछन् । प्लम वाल विराटनगरमा मात्रै नभई अन्य स्थानमा समेत चलनमा रहेको छ । ‘कहिले काँहि ढुंगा लगाए, रड नलगाएर पैसा खाए जस्ता आरोप आउँछ’ एक इन्जिनियरले भने–प्लम वालमा रड हुँदैन, त्यसको मापदण्ड नपुर्‍याई संरचना बनाउने संभावना पनि कम हुन्छ तर स्थानीयले अनावश्यक शंका गरेर आफ्नो संरचना आफैं बिगार्न लगाईरहेका हुन्छन् । प्लम कंक्रिट मुख्यतया ठूलो आयतनको काममा प्रयोग गरिन्छ । तर, मापदण्ड पूरा नगरी निर्माण गरिएको संरचना दीर्घकालिन नहुने र जोखिमपूर्ण हुन सक्ने बताइएको छ ।

सय मिटर दुरीको नाला निर्माणको बजेट २० लाख रहेको छ । सानो बजेटमा भईरहेको काममा पारदर्शी हुनुपर्ने स्थानीयको माग भएपनि उनीहरुले काम गर्नेहरुलाई दवाव दिएर मात्रा परिवर्तन गराउन नमिल्ने इन्जिनियरहरुको भनाई छ । यदि त्यस्तो गरेको भए निर्माणको जिम्मेवारी पाएको व्यक्ति वा फर्म जवाफदेही हुनुपर्ने हुन्छ । यद्यपी यो साइडमा महानगरपालिकाबाट जानुपर्ने इन्जिनियर अंकित भट्टराईले यस विषयमा केहि कुरा समेत बताउन मानेनन् । उनले आफू विराटनगर बाहिर रहेको बताउँदै निर्माणको विषयमा बोल्न चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्