काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले अन्तर्राष्ट्रिय महिला दिवस, दिवसमा मात्र सिमित हुन नहुने बताएकी छन् ।
मंगलवार ललितपुरमा आयोजित स्तन क्यान्सर तथा आर्थिक तथा व्यवसायिक छलफल कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा महिलासँग सम्बन्धित विषयहरु कानूनी साक्षरता, स्तन क्यान्सरको विषयमा जनचेतनामुलक कार्यक्रम साथै वडामार्फत महिलाहरुको लागि विभिन्न तालिमका विषयमा छलफल गरेकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला सप्ताह कार्यक्रमको पहिलो दिन उनले महिला दिवस दिवसमा नै सिमित नभई ३६५ दिनै महिला शक्तिकरणका अभियानहरु चलाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘अन्तर्राष्ट्रिय महिला दिवस भनेर दिवसमा मात्र सिमित हुनुहुँदैन । ३६५ दिनै महिला शक्तिकरणका अभियानहरु चलाउनुपर्छ । भ्रष्टाचार भनेर ठुला ठुला काण्डहरुमा मात्र सिमित हुने होइन वडामा पनि तालिमहरुको लागि आएको बजेटमा पनि भ्रष्टाचार भइरहेको हुन्छ । त्यहाँ नीतिगत भ्रष्टाचार भइरहेको हुन्छ । कहिलेकाही एउटा महिलाले १० वटा तालिम लिएपनि व्यवसायसँग जोड्न सकिरहेको हुदैन । कुनैले व्यवसाय गर्न खोजेको हुन्छ तालिम पाएको हुदैन ।’
उनले महिलाहरुलाई स्वजागरण गराउने, आफ्नो लागि आएको बजेट कहाँ उपयोग भइरहेको छ त्यसको खोजी गर्न नसकिरहेको बताएकी छन् ।
डा.कार्कीले राज्यका निकायहरुले कार्यक्रम ल्याएपनि त्यो कार्यक्रम नागरिकहरुलाई थाहा नै नभएको पनि गुनासो गरिन् ।
महिलाको अर्थपूर्ण सहभागिता आजको अपरिहार्यता भन्ने नारासहित स्तन क्यान्सर तथा आर्थिक तथा व्यवसायीक छलफल कार्यक्रम भएको हो । ‘स्तन क्यान्सर रोकथामका लागि जागरूक बनौं, समयमै परीक्षण गरौं !’ भन्ने नारासहित कार्यक्रम भएको हो ।