काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले आज (मंगलबार) एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो । सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ खुलेको थियो ।
बाँडफाँटका क्रममा कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओको नतिजा अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमार्फत हेर्न सकिनेछ ।
आईपीओमा १९ लाख ५५ हजार ६८५ आवेदकको आवेदन स्वीकृत भएको थियो । यसअनुसार १७ लाख ७१ हजार १८५ जना आवेदकको हात खाली भएको छ । गत आर्थिक वर्षसम्म यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा छ । सञ्चित नाफा ८८ लाख ५५ हजार रुपैयाँ छ ।