काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको शून्य समयमा उहाँले तनहुँका कतिपय पयटकीय स्थल विश्वमा परिचित रहेकाले भानु जन्मस्थल चुँदिरम्घा, थानीमाई, मिर्लुङकोट, बन्दीपुर र देवघाटको सम्बर्द्धन र विकासका लागि सरकारसँग अनुरोध गर्नुभयो ।
सांसद मायाप्रसाद शर्माले काठमाडौँको झोर क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट करिब रु २५ करोड रकम बरामद भएको घटनालाई सरकारले निष्पक्ष रूपमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग गर्नुभयो । सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब रु २५ करोड नगदसहित एकजनालाई पक्राउ गरेको थियो ।
सांसद मृगेन्द्रकुमार सिंह यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव डा सङ्गीता कौशल मिश्रमाथि सरकारले विभेद गर्न नहुने धारणा राख्नुभयो । सांसद शारदादेवी भट्टले नेपाल विद्य्त् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङका सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले राष्ट्रियसभामा जानकारी गराउनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “एक जना कर्मचारीको कारणले मुलुकमा लोड सेडिङको अन्त्य भयो भन्दैगर्दा लोड सेडिङ अन्त्य गर्न कुन सरकारले के भूमिका निर्वाह गरेको छ भन्ने विषय आमनागरिकले जानकारी पाउनुपर्छ ।”
सांसद सुमित्रा विसीले धादिङसहित मुलुकका विभिन्न जिल्लामा आगालागीका घटना भइरहेका भन्दै वन कार्यालयसहित सरोकार भएका निकायलाई सचेत हुँदै नियन्त्रणमा लाग्न आग्रह गर्नुभयो । उहाँले भोलिदेखि सुरु हुने एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकार भएकालाई अनुरोध गर्नुभयो ।