विराटनगर । कोशी पर्यटन वर्ष २०८२, उद्घाटन तयारीसँगै पर्यटन व्यवसायीले भारतीय पर्यटकसँगको सम्बन्ध जोड्ने कार्यक्रमको तयारी गरेका छन् । नेपाल एशोसिशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) कोशी र इष्टर्न हिमालय ट्राभल्स एण्ड दुर अपरेटर्स (एटो) इन्डियाबीच क्रस बोर्डर पर्यटन सहयोग आदानप्रदानका कार्यक्रम हुने भएको हो ।
आगामी चैत २७ गते तेह्रथुमको तिनजुरे क्षेत्रमा कोशी पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भईसकेको सरकारले जानकारी दिइएको छ । तिनजुरे क्षेत्रका गुराँसमा पानी छिट्न सरकार व्यस्त रहेका बेला निजी क्षेत्रबाट पर्यटन व्यवसायी भने कसरी भारतबाट पर्यटक भित्र्याउने भन्ने चिन्तामा देखिएका छन् । कोशी पर्यटन वर्षकै सन्दर्भमा कोशीमा भारतीय पर्यटक भित्र्याउन भारतको सञ्जालसँग दुई पक्षीय सम्झौतामा हस्ताक्षर गर्ने तयारी व्यवसायीले थालेका छन् ।
नाटा कोशीका अध्यक्ष पुण्य भट्टराईका अनुसार एटोमा आवद्ध १०७ वटा ट्राभल्स एजेन्टका प्रतिनिधि सोमबार मेचीनगरस्थित मेची क्राउनमा आउने कार्यक्रम रहेको छ । उनीहरुलाई नाटाले स्वागत गर्नेछ । मंगलबार एटो र नाटाबीच दुईपक्षीय सहयोग आदानप्रदानका लागि सहमति गरिने भएको छ । ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ को आयोजना गरेपछि हामीले कोशी पर्यटन वर्ष उद्घाटन क्षेत्रमा घुम्ने निम्ता दिनेछौं । नेपालमा ७५ प्रतिशत पर्यटक ट्राभल्स एजेन्सीमार्फत आईरहेका छन् ।
भारतका पर्यटकलाई त्यहाँका ट्राभल्स एजेन्सीले नेपालमा लिएर आउँदा उनीहरुको यात्रा सहजीकरण गर्न आश्वस्त पार्ने उद्देश्य राखिएको अध्यक्ष भट्टराईको भनाई छ । कोशीको वातावरणसँग कसरी भारतीय पर्यटकलाई टिकाउन सकिन्छ भन्ने सिकाई पनि नेपालका पर्यटन व्यवसायीलाई जरुरी रहेको भट्टराईको भनाई छ ।
कोशीको पहाडी क्षेत्र र हिमाली क्षेत्र मात्रै नभई तराईका जिल्लालाई कसरी हवको रुपमा विकास गर्ने भन्ने पर्यटन वर्षको उपयोगबाट लिनसक्नुपर्ने पर्यटन व्यवसायीको बुझाई छ । त्यसका लागि भारतबाट आएका पर्यटकलाई प्रदेश राजधानी विराटनगरमा एक रात टिकाउने, झापा र सुनसरीमा बसाउन कसरी सकिन्छ भन्ने योजना जरुरी रहेको व्यवसायीको भनाई छ ।
विराटनगरका होटल व्यवसायी तथा कोशी पर्यटन वर्ष २०८२ को सचिवालय सहसंयोजक भविसकुमार श्रेष्ठले प्रधानमन्त्रीले आगामी चैत २७ गते तेह्रथुमको तिनजुरे क्षेत्रमा उद्घाटन गर्नु भएको कार्यक्रम एकवर्षसम्म निरन्तर रहने दावी गरेका छन् । उनले कोशी पर्यटन वर्ष २०८२ को महत्व आफैंमा यस प्रदेशका लागि फरक ढंगले सिद्ध हुने विश्वास पनि व्यक्त गरे । त्यसका लागि व्यवसायीले भारतीय पर्यटन व्यवसायीसँग समेत परामर्श र छलफल गरिरहेको भनाई छ ।
कोशी सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटन वर्ष २०८२ लाई भव्य रुपमा उद्घाटन गरेसँगै एकवर्षसम्म विभिन्न गतिविधि गर्ने र आवश्यक पूर्वाधार तयार पार्ने लक्ष्य हाँसिल गरिने बताएका छन् । आवर विराटनगरसँग आइतबार अन्तवार्ता दिदैं उनले यस्तो बताएका हुन् ।
‘रमणीय कोशी प्रदेश’ मुलनारासहित सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई निम्ता पठाइएको समेत जानकारी दिइएको छ ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷२०८२ मा दश करोड रुपिँया बजेट बिनियोजन गरेर पर्यटन वर्ष २०८२ लाई घोषणा गरेको हो । ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा तय गरिएको छ ।
चार प्रमुख धार्मिक गन्तव्यहरु र पर्यापर्यटन पैदलमार्गहरुलाई विशेष जोड दिइएको मन्त्री मण्डलको दावी छ । बराह क्षेत्र, हलेसी, पाथीभरा, रामधुनीलाई विशेष प्रवद्र्धन गर्ने पर्यटन वर्षको लक्ष्य छ । यसैगरी प्राकृतिक सुन्दरतालाई उपयोग गर्ने बताइएको छ ।
सरकारले पर्यटन वर्षको दौरानमा भारतसँगका चार मुख्य नाकामा पर्यटन सूचना केन्द्र स्थापना गरी तथ्यांक संकलनलाई व्यवस्थित गर्ने दावी गरिएको छ । कोशीमा प्रमुख पर्यटकीय गन्तव्यहरु १४ वटा रहेका छन् । नयाँ विकास गरिनुपर्ने गन्तव्य १६ वटा रहेको छ । कोशी प्रदेशमा वार्षिक ४८ हजारको हाराहारीमा तेस्रो मुलुकका पर्यटक भित्रने गरेको तथ्यांक छ । सन् २०२२ मा एकहजार ५०० पर्वतारोही पुगेका थिए ।
व्यवसायी श्रेष्ठका अनुसार कोशीमा तारेस्तरका होटल १२ वटा रहेका छन् । पर्यटकीयस्तरका ३६ वटा छन् । निजी तथा सामुदायिक १०५ होमस्टेहरु रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसैगरी ७१ वटा ट्राभल तथा ट्रेकिङ एजेन्सी, ८७ जना ट्रेकिङ गाइड, २८९ जना टुरगाइड, ८५ जना पोर्टरगाइड रहेको तथ्यांक छ । प्रदेशमा चार स्थानमा ¥याफ्टिङ सञ्चालनमा रहेका छन् ।