धरान । लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो पूर्ण बैठक २०८२ वैशाख २० गते ऐतिहासिक विजयपुरगढी (धरान) मा सम्पन्न भएको छ।
नवनिर्वाचित अध्यक्ष सन्देश सुब्बा (इड्वा) को अध्यक्षता र वरिष्ठ पत्रकार हर्ष सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकले तीन बुँदे 'विजयपुर घोषणापत्र' जारी गरेको छ।
घोषणापत्रमा पहिलो बुँदामा ३२ औं अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा विश्वभरका पत्रकारहरूप्रति शुभकामना व्यक्त गर्दै सञ्चार क्षेत्रमा समावेशिता र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ। आदिवासी, जनजाति, सिमान्तकृत वर्ग र भूगोलमैत्री नीति तथा कानुन निर्माणको आवश्यकता औंल्याइएको छ।
दोस्रो बुँदामा ताप्लेजुङस्थित पवित्र मुन्धुमी स्थल मुक्कुम्लुङ/सेमुक्तुगोक्/मुक्तिफोमाङ/पाथीभरा क्षेत्रमा निर्माणाधीन केबुलकार परियोजना आदिवासी लिम्बू समुदायको संस्कृति, दर्शन र वातावरणविरुद्ध रहेको भन्दै सो परियोजनाको बौद्धिक तथा प्राज्ञिक प्रतिरोध गरिने जनाइएको छ। साथै, 'नो केबुलकार' अभियानप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ।
तेस्रो बुँदामा विजयपुर दरबार परिसरमा रहेका ऐतिहासिक तथा सांस्कृतिक संरचनाहरूको संरक्षण र प्रवर्द्धनको माग गरिएको छ। याक्थुङ लिम्बू र विजयपुरकालीन सम्पदाहरूलाई राज्यको तीनै तहको सरकारले सूचीकरण गरी संरक्षण गर्नुपर्ने र स्थानीय समुदायको स्वामित्वमा प्राधिकरणमार्फत विकास गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने माग उठाइएको छ।
लिम्बू पत्रकार संघले यो घोषणापत्रमार्फत आदिवासी समुदायका हकहित, सांस्कृतिक संरक्षण र समावेशी सञ्चार क्षेत्रको पक्षमा स्पष्ट धारणा सार्वजनिक गरेको हो।