जनकपुर । मधेश प्रदेशका आठ वटै जिल्लाका सहिद परिवारका सदस्यहरुले मधेश प्रदेश अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालय अगाडि धर्नामा बसेका छन् ।
विभिन्न गुनासो लिएर आठवटै जिल्लाका करिब ३० जना बढि सहिद परिवारका सदस्यहरु आइतबार बिहान १० बजेदेखि मन्त्रालय अगाडि धर्नामा बसेका छन्।
उनीहरुले प्रदेश सरकारले आश्वासन दिएर आफूहरुको वास्ता नगरेको आरोप लगाएका छन् । आफूहरुलाई प्रदेश सरकारले जागिर दिएपनि विभिन्न कारण देखाई हटाएको र काम गरिहरेकाहरुलाई पनि एक वर्षदेखि तलब नदिएको गुनासो उनीहरुको छ । आफ्ना समस्या सुनाउन आउँदा गृहमन्त्री राज कुमार लेखीले वेवास्ता गरेको आरोप पोखरीया नगरपालिकाबाट आएका सहिद चन्दन पटेलका पिता अवधेश प्रसाद पटेलले लगाएका छन् ।
उनले सहिद प्रतिष्ठान गठन भए पनि विगतमा एकजना सदस्यको मृत्यु भएपछि आफूहरुको समस्या मन्त्रालयसम्म पुगाउने अब कुनै आधार बाँकी नरेको सुनाएका छन् । उनले आफूहरुले सदस्यका लागि नाम सिफारिस गरेको दिएतापनि महिनौंदेखि अलपत्र अवस्थामा प्रतिष्ठान रहेको जनाए ।
यता गृह सञ्चार तथा कानुनमन्त्री राज कुमार लेखीले सहिद प्रतिष्ठान ऐन आगामि प्रदेश सभामा प्रस्तुत गर्ने र सो ऐन जारी भएपछि सहिद परिवारको सम्पूर्ण समस्या समाधान हुने बताए ।
उनले विगतका सरकारले सहिद परिवारको सदस्यहरुलाई गम्छा र माला लगाई वर्षमा एक पटक आर्थिक सहयोगको नाममा एकदुई लाख रुपैयाँ दिने गरेकोमा त्यसले आंशिक रुपमा सहिद परिवारका सदस्यहरुलाई केही राहत भेटे पनि दिर्घकालिन समाधान नभएको धारणा राखे ।
सहिद परिवारका सदस्यहरुको दिर्घकालिन व्यवस्थापन गर्न सहिद प्रतिष्ठान ऐन आवश्यक रहेको गृहमन्त्री लेखिले जनाए । उनले सो ऐनको सम्पूर्ण कार्य पूरा भइसकेको र अब बस्ने प्रदेश सभाको पहिले बैठकमै उक्त ऐन पेस हुने जानकारी दिए ।