विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको पुरानो भवन जीर्ण हुँदा परीक्षा भईरहेको बेला समेत छतको सिलिङबाट सिमेन्टको रोडा झरेर निरीक्षक घाईते भएका छन् । बिबिएम र बिबिएको परीक्षा चलिरहेको बेला बुधबार कोठाको ढलानबाट सिमेन्टको टुक्रा र रोडाले लागेर पूर्व कर्मचारी आनन्द चौधरी घाईते भएका हुन् ।
मोरङ क्याम्पसको मुख्य भवनको ६३ नम्बर कोठामा परीक्षा चलिरहेको बेला घटना भएको क्याम्पस प्रमुख रामअवतार शरणले जानकारी दिएका छन् । उनका अनुसार घाईते कर्मचारीको उपचार भएको छ । घटनापछि आजै कार्यकारिणी समितिको बैठक राखेर भवन मर्मत नगरी प्रयोग नगर्ने निर्णय गरिएको उनले जानकारी दिए । पुरानो भवन जीर्ण थियो तर ठूलो कोठा भएकोले परीक्षा चलाएका थियौं, घटना भयो, क्याम्पस प्रमुख शरणले भने–जीर्ण भवन मर्मत गर्नुपर्ने थियो ।
वि.सं. २०१५ सालमा विज्ञान विषयको अध्ययनका लागि निर्माण गरिएको महेन्द्र मोरङ क्याम्पसको मुल भवनमा २०१९ साल कात्तिक ३० गतेदेखि विज्ञानको पढाइ सुरु भएको हो। २०७२ सालको भूकम्पले क्षति पुऱ्याएपछि यसलाई जोखिमपूर्ण संरचनामा राखिएको थियो । घटनापछि स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र मोरङ क्याम्पसले एक विज्ञप्ति जारी गर्दै छतबाट खसेको सिमेन्टले शिक्षक र विद्यार्थीको ज्यान खतरामा पर्न सक्ने भएकाले मर्मतको माग गरिएको छ । स्ववियु सभापति रोहित यादव जोखिमपूर्ण भवन मर्मत बिना प्रयोग गर्न नहुने माग गरेका हुन् ।