-रंजना भट्टराई
शून्य, शान्त एकदम चुपचाप
बसेका छन
तिम्रा ओछ्यान,ओढने,
मेच अनि
तिमीले छरपस्ट
पारेका टेबल
हल्लिदैन मसीदानी
देखिदैन तन्नामा मसिका
टाटाे
यत्र तत्र छरिएका तिम्रा
लुगा,
कुना, काप्चा, सिरान मुनि
घुसारेका
चुइङ्गम, चक्लेटका खोल ।
भित्तका रङ्ग उडेर
तिमीले काेरेका
ती भित्ताहरुबाट
तिम्राे बालापन
खित्किरहेका छन
तिमीले जम्मा गरेका
ललिपपका डाँठले
खाेजिरहेछ ।
शान्त छन भान्सा
सिनित्त सफा छ चुल्हो
पाक्तैन परिकार
तिमीलाई मनपर्ने केहिपनि
आउँदैन मीठाे
बास्ना अचेल मन हरहरिने गरि
चुपचाप छन दैनिकी
तिमीले घर छाडेर गए पछि ।।
विराटनगर-१०