-गीता अर्याल
तिम्रो कारण
देखेको हो यो धर्ती
तिम्रो रगतमा चलेको छ
यो जिन्दगी
म जन्मदा तिमीले भोगेको पीडा
तिमीलाई मैले दिएका
मेरा बाल्यकालका पिडनहरु
आमा बल्ल थाहा भयो
जब म आमा भएं
संतानको लागि
घामपानी बर्षा
दुख पीडा हैरानी
दोष अपजस
सबै सहें
खुशी पनि लाग्यो आमा
संतानको खुशीमा
आमा कसरी हाँस्दिरहिछिन भनेर
जब म मेरा संतानको खुशी र हांँसोमा
हजारौं दु:ख बिर्सेर हाँस्न सक्छु
हो आमा !
यादहरु असरल्ल छन्
आज मेरो सामु मेरी आमा
भौतिक रुपमै भएकी भए
आमा म पनि त्यो काखमा
रमाउन पाँउथे होला
आमाको छातीमा टाँसिएर
दु:ख र सुखका
कथा ब्यथा भन्न पाउँथें होला
आफू भोकै बसेर
मलाई खुवाएको ऋण
तिर्न त कहाँ सक्थे र
घटाउन पाँउथे होला
आमा म अभागी
नियतिले त्यस्तै खेल खेल्यो
तिम्रो बिदाईमा पनि
कस्तो चट्याङ पर्यो
अहिले मुटु दुख्छ आमा
सम्झदा त्यी पलहरु
मलाई के थाहा थियो र आमा
तिमीले बोलाउदा पनि
पुग्न नपाउदा समयमा
मेरी आमाको आवाज
सुन्न नपाएको
त्यो कालो समय
अँध्यारो दिन
क्रूर रात
आमा ! अहिले बुझ्दैछु
आफू आमा भएपछि
संतानको लागि
कर्तव्य र दायित्व दुबै
निभाउन परेपछि
संतान हुर्काउन
पढाउन बढाउन आफ्नो जीवन नै
खुकुरीको धार माथि टेक्दा पनि
खुशी हुँदाखेरी
कस्तो हुँदोरहेछ आमा भन्ने
हो आमा!
कतैबाट हेरीरहेकी छौ भने
देखेकै छ्यौ होला
अहिले म बिरामी पर्दा
मैले काम गर्न नसक्दा
मेरा छोराछोरीले मेरो सेवा गरेको
मेरो दूधको ऋण तिर्दै गएको
तर आमा !
मैले कहिले पाइन मेरी आमालाई
एक गाँस मीठो खुवाउन
एक आङ सारी चोलो किनीदिन
अनि त्यो पाँउमा बसेर
आमाको काखमा
मनको भारी बिसाउन
आमा आज भक्कानो छुटेको छ
मेरो अगाडि मेरा छोराछोरीले
राम्रो नाना
मीठो खाना
सुख र सयल दिएको
पर्व र चाँडमा आफ्नो कर्तव्य
पूरा गरेको देखेर
खै आमा म अभागी छोरीले
कुन जूनीमा पाउँला
मेरी आमाको सेवा गर्न
तिमीले धर्ती नबदल्दा
म अबुझ थिएं
आपत बिपत्त र संकटमा थिएं
मेरो जीवनमा पटकपटक
चट्याङ परिरह्यो
त्यी दैवी खुकुरी र बञ्चरा
मेरो छातीमा गाडिईरहें
त्यो बेला आमाको मर्म बुझ्न
आमाको सेवा गर्न
दिएन आमा मेरो बुद्धि र बर्कतले
दिएन नियतिले
आज समय धेरै बितेछ
म छु अलि सन्चो
अलि सफल
अलिकति सक्ने
तर मेरी आमा खै
मात्र स्मृतिमा
आमा मात्र स्मृतिमा
श्रद्धासुमन सहित सेवानमन आमा।