इन्दु साह
विराटनगर । विराटनगरमा खानेपानी योजना विस्तारका क्रममा पाइप पुर्न खनिएको सडक कालोपत्रे सुरु गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा सुमिजु कर्पोरेशनले पाइप बिछ्याउन खनिएको सडक कालोपत्रे थालिएको हो ।
पाइप विस्तारका लागि विराटनगरका विभिन्न ठाउँका कालोपत्रे सडकहरू खनिएको थियो। तर, पाइप जडानको केही दिनमै सडक पुनः पुरानै अवस्थामा फर्काइने प्रतिबद्धता गरिएको भए तापनि आवश्यक सामग्री विदेशबाट आयात हुने भएकाले सडक लामो समयसम्म मर्मत हुन सकेको थिएन। जाइकाका परामर्शदाता राजेश कुशैतका अनुसार सामाग्री ढिलोगरी आएकाले सुरुमा कालोपत्रे गर्न सम्भव नभएको हो। उनले भने सडक पूर्ण मर्मत नहुञ्जेलका लागि अस्थायी रूपमा दैनिक पानी छर्केर धुलो नियन्त्रण गरिँदै आएको जानकारी दिएका छन् ।
उनका अनुसार हाल पाइप जडान भइसकेका सडकहरूमा कालोपत्रे कार्य सुरु भइसकेको छ । अबको १५ देखि २० दिनभित्र सबै सडक मर्मत कार्य सम्पन्न गरिने लक्ष्य रहेको छ । यसअघि पाइप जडानका लागि सडक खनिएको ठाउँमा हावाहुरी र वर्षातले गर्दा कहिले हिलो त कहिले धुलो हुने अवस्था सिर्जना भएको थियो । यसले स्थानीय बासिन्दालाई सास्ती परेको थियो भने उनीहरूले सडक पिच नगरिएको भन्दै गुनासोसमेत गरेका थिए।
विराटनगरमा अहिले ५७ किलोमिटर लम्बाइमा खानेपानीको पाइप विस्तार कार्य भइरहेको छ। यो योजना शहरको पुरानो तथा जीर्ण भइसकेको खानेपानी वितरण प्रणालीलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको हो। यसै योजना अन्तर्गत पहिले नै कालोपत्रे गरिएका सडकहरू समेत खनेर नयाँ पाइप बिछ्याउने कार्य भइरहेको छ। सुमिजु कर्पोरेशनले नै पाइप विस्तारसँगै खनिएका सडक मर्मतको जिम्मेवारी पनि लिएको छ। प्रारम्भमा सडक खन्ने कामप्रति असन्तुष्टि जनाएका स्थानीय बासिन्दा अहिले भने आयोजना सफल बनाउनेतर्फ सकारात्मक भएका छन् ।