विराटनगर । बुढीगंगा गाउँपालिकाले 'बुढीगंगा गाउँ युवा परिषद्' गठन गरेको छ।
सोमबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नवगठित परिषद्का २६ सदस्यहरूले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का सम्पूर्ण सदस्यहरूलाई थापा मगरले नै शपथ ग्रहण गराएका थिए। कार्यक्रममा अध्यक्ष मगरले युवा शक्तिलाई परिवर्तनको आधार बताउँदै गाउँपालिकाको समृद्धि र स्थायीत्वका लागि युवाहरूको सोच, ऊर्जा र नेतृत्व क्षमताको समुचित उपयोग अत्यावश्यक रहेको बताए।
उक्त परिषद् गठनको मुख्य उद्देश्य युवाहरूलाई नीति निर्माण, कार्यक्रम सञ्चालन तथा समग्र विकास प्रक्रियामा सक्रिय सहभागी गराउनु रहेको जनाइएको छ। नवगठित परिषदमा पूजेश कोइराला अध्यक्ष र आयुष अधिकारी उपाध्यक्षमा नियुक्त भएका छन्। यसैगरी कृष्ण प्रसाद भट्टराई सदस्य सचिव रहेका छन्। परिषद्का अन्य सदस्यहरूमा रमिता माझी, दिनेश सापकोटा, सृष्टि दाहाल, नवीन पोख्रेल, सागर चौधरी, सपना थापा मगर, शिखा झा, विजय सरदार, सरु वि.क., मुन्नी उराँव, प्रमिला उराँव, योगेन्द्र बस्नेत, सृजना लुइँटेल, सुनिल विश्वास, क्षितिज थापा मगर, अंजय बस्नेत, केशव ढकाल, राजेश न्यौपाने, राम माझी, मो. फौजन मियाँ, सौहार्द कार्की, राम माझी र भावना ऋषीदेव रहेका छन्।