विराटनगर । कोशी प्रदेशमा ट्राफिक सप्ताहको अवसर पारेर सामाजिक अभियानमा सक्रिय व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
आज(शुक्रबार) विराटनगरमा आयोजित एक विशेष समारोहमा सामाजिक अभियन्ता पेरिस सुवेदी, ज्ञानेन्द्र राई, पदम श्रेष्ठ, नेपाल टेलिभिजन इटहरी च्यानल र सौगात खतिवडालाई सम्मान प्रदान गरिएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनीहरूलाई दोसल्ला ओढाई तथा सम्मानपत्र प्रदान गरी सम्मानित गरेका थिए। ट्राफिक सुरक्षाको क्षेत्रमा निरन्तर योगदान दिँदै आएका व्यक्ति तथा संस्थाहरूलाई ट्राफिक प्रहरी र सरोकारवाला निकायसँगको सहकार्य, समन्वय र सहयोगी भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको जनाइएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेका अनुसार हरेक वर्ष ट्राफिक सप्ताहको सफल आयोजना र जनचेतनामूलक कार्यहरूमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई यसरी सम्मान गरिँदै आएको छ।
विराटनगरमा सम्पन्न ट्राफिक सप्ताहको उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। ट्राफिक नियमको पालना, दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना फैलाउने उद्देश्यसहित आयोजना गरिएको ट्राफिक सप्ताहले प्रदेशस्तरमै सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।