विराटनगर । प्रहरी तथा भन्सार राजस्व टोलिले सीमानाकामा कडाई गरेपछि विराटनगरमा कुखुराको मासुको अभाव देखिएको छ । पछिल्लो केही दिनयता भारतबाट अवैध रुपमा भित्रयाउने कुखुरा नियन्त्रण पर्न थालेपछि स्थानीय बजारमा आपूर्ति घटेको हो । भारतबाट आउने कुखुरा बन्देज गरेसँगै स्थानिय कुखुरा पालक कृषकलाई भने राहत मिलेको छ । तर, उपभोक्ताका लागि मूल्य बढ्ने संभावना देंखिएको छ ।
मासु व्यावसायी संघ मोरङका सचिव सुवास शिवाकोटीका अनुसार भन्सार र प्रहरी प्रशासनले सीमा क्षेत्रमा निगरानी बढाएपछि भारतबाट तस्करी भइ आउने कुखुरा रोकिएको हो । यसले गर्दा विराटनगरका मासु पसलहरुमा कुखुराको मासु अभाव देखिन थालेको छ । मासुको अभावले दैनिक उपभोक्ता मात्र नभई होटल, रेष्टुरेण्ट व्यवसायीलाई समेत समस्या परेको छ ।
शिवाकोटीले भने, यसले गर्दा यहाँका स्थानिय कुखुरा पालन गर्ने कृषकहरुलाई पनि राम्रो राहत मिलेको छ । ‘यस अघि १८० मा बेच्ने जिउँदो कुखुरा अहिले २४० सम्म डिलरहरुलाई बेच्ने गरेको पाइएको छ ।’ यता व्यापारीहरुले ३८० देखी ४०० सम्म बेच्ने गरेका छन् । बोडरमा केहीदिनदेखी एकदमै कडाई गरिएको छ । त्यही भएर पनि यहाँका पसलहरुमा बोईलर मासुको अभाव देखिन थालेको हो शिवाकोटी भने । विराटनगरमा ३ सयको हाराहारीमा रहेका फ्रेस हाउसहरुबाट दैनिक ८ देखी १० हजार किलो बोईलर कुखुराको मासु खपत हुने गरेको उनले सुनाए ।
जानुका मिट हाउस विराटनगर १२ का व्यापारी रुद्र गिरीका अनुसार सुनसरी जिल्लाको पोल्ट्री फमबाट कुखुरा ल्याएर बिक्री गर्ने गरेको बताए । आफुले यसो गर्दा भारतबाट आउने सस्तो कुखुराले बजार खिच्ने गरेको उनले सुनाए ।