काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी चन्द्रकुवेर खापुङ प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) पदमा नियुक्त भएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद्ले उनलाई भदौ १९ बाट लागू हुनेगरी नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अहिलेको प्रहरी ऐन र नियमावली अनुसार खापुङ छोटो समय मात्र आईजीपी पदमा रहन्छन् । संसदमा छलफलमा रहेको प्रहरी विधेयक पारित नभएको अवस्थामा उनले २ महिना ७ दिन मात्र प्रहरीको कमान्ड समाल्ने छन् । वर्तमान आईजीपी दीपक थापासँगै प्रहरी अधिकृतको फारम भरेका खापुङ २०५२ कात्तिक २७ मा प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए । प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि पूरा गरेर उनी आगामी कात्तिक २६ मा अवकाशमा जान्छन् ।
थापा भने भदौ १८ बाट अनिवार्य अवकाशमा जाँदै छन् । थापा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् । थापालाई संगठनबाट औपचारिक बिदाइ गरेपछि खापुङले प्रहरीको कमान्ड समाल्नेछन् । खापुङ २०२७ मंसिर २३ मा तेह्रथुमको मेन्छ्यायोम गाउँपालिकामा–६ मा जन्मिएका थिए । जेन्डर स्टडिजमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका खापुङले इन्स्पेक्टर हुँदा मोरङको इलाका प्रहरी कार्यालय बेलबारी लगायतका ठाउँमा कमान्ड गरेका थिए ।