वसन्त अधिकारी
जसरी एउटा बिउभित्र विशाल रुख हुने सम्भावना लुकेको हुन्छ त्यसैगरी मानिसभित्र पनि अथाह सम्भावना लुकेको हुन्छ । मानिस सम्भावनाको पर्यायवाची हो भन्दा अतिशयोक्ति नहोला । पशु–पशुको रूपमा जन्मिन्छ र पशुको रूपमा नै मर्दछ, तर मानिस–मानिसको रूपमा जन्मे पनि चेतनाको स्तरलाइ उठाई भगवानसम्म बन्न सक्ने सम्भावना राख्छ ।
हामीमध्ये अधिकांश मानिस आफ्नो क्षमता कति छ भन्ने कुराको अन्दाजा नलगाइकनै यो संसारबाट बिदा हुन्छाैं । मानिसको विकासको सम्भावनाको कुनै सीमा छैन । त्यो कुरा उसले गरेको सभ्यताको विकासको उदाहरणले प्रस्तुत गर्दछ । मानिस सधैं हुने क्रममा हुन्छ, त्यसैले हामी मानिसलाइ अंग्रेजीमा ‘ह्युमन बिइङ’ (मानिस हुने प्रक्रियामा) भन्छौं । मानिस कहिले पनि पुरै जन्मिँदैन, यो नै उसको सुख तथा ठूलो दुःखको पनि कारण हो । त्यसैले मानिसले जति नै प्राप्त गरे पनि आफूमा केही कुराको कमी महसुस गरिरहन्छ र कहिल्यै पनि आफूलाई सन्तुष्ट ठान्दैन । उसलाई अझै प्राप्त गर्न धेरै बाँकी छजस्तो लागिरहन्छ र ऊभित्र जहिले पनि एक किसिमको खालीपन महसुस भइरहन्छ ।
त्यो खालीपनलाई मानिस धन, सम्पत्ति, इज्जत, नाम, यश, विद्या, ध्यान, ज्ञान, नशा आदिबाट भर्न चाहन्छ । जब यी सबैले पनि ऊभित्रको खालीपन मेटिँदैन तब ऊभित्रको खालीपन र बेचैनी मेटाउन लगातार केही न केहीको खोजमा लागिरहन्छ । जब मानिसले देख्छ कि राजनीतिले उसलाई असीमित शक्ति र पहिचान दिन सक्छ, र त्यसको प्राप्तिको लागि सबै लागि परेका छन्, तब ऊ पनि राजनीतिको पछाडि लागी शक्ति प्राप्त गर्ने योजना र प्रयासमा निरन्तर लागिरहन्छ । सारा मानिस र मिडिया राजनीति र राजनीतिज्ञको पछाडि लागेको देखेर आफू सही भएको भान उसलाई पर्नु स्वाभाविकै हो । जब राजनीतिले नै मानिसलाई असीमित शक्ति, पहिचान र खुसी दिन्छ भन्ने कुराको विश्वास जाग्छ, तब यसैको पछि लागी आफ्ना हरेक इच्छा, अहंकार र महत्वकांक्षा पूरा गर्नतर्फ लाग्दछ ।
तर यो हीन भावनाबाट राजनीति गर्न आएको महत्वाकांक्षी विचारले केही सीमित व्यक्तिहरूको स्वार्थ सिद्ध गर्नको निम्ति सहयोग पु¥याए पनि आम नागरिक र देशको भने हित गर्दैन भन्ने कुराको प्रमाण हाम्रो समाजमा स्पस्ट रूपले देख्न सकिन्छ । प्लेटोको विचारमा शासक त्यो व्यक्ति बन्न योग्य हुन्छ जो ज्ञानी हुनुका साथै व्यक्तिगत स्वार्थभन्दा माथि उठेको हुन्छ । तर यथार्थमा यस्तो आदर्श व्यक्ति भेट्न त्यति सहज छैन, किनकि राजनीति गर्ने व्यक्ति पनि आखिर मानिस नै हो, कुनै भगवान्को अवतार होइन ।
उसका पनि आफ्नै आवश्यकता र स्वार्थ हुन्छन् जसलाई पूरा गर्नको निम्ति सधै प्रयासरत हुन्छ । यसो भन्नुको तात्पर्य उसले गलत गर्न पाउनुपर्छ भन्ने होइन । साँचो अर्थमा राजनीति गर्ने भनेको नै देश र सामाजमा रहेका विद्यमान समस्यालाई हल गरी नागरिकहरूलाई सुशासन, विकास र समृद्धिको प्रत्याभूति गराउनको निम्ति खेलिने भूमिका हो । त्यही प्रण लिएर हाम्रा राजनीतिज्ञहरू हामीमाझ हात जोडेर भोट माग्न आउँछन् । यसैको लागि नै हामी उनीहरूलाई हाम्रा जनप्रतिनिधि छान्दछौं र कर तिरेर पाल्नको निम्ति तयार हुन्छौं ।
राजनीति भनेको देश र समाज हाँक्ने कुरा हो, जुन कुरा त्यति सहज छैन । तर हाम्रो समाजमा यसलाई सबैभन्दा सजिलो पेशाको रूपमा लिइने गरिन्छ । राजनीति कमाउने र शक्ति प्राप्त गर्ने विषय मात्र होइन, न यो अरु केही काम नहुँदा अँगाल्ने पेशा नै हो । राजनीति कति संवेदनशील विषय हो भन्ने कुरा बुझ्नको निम्ति एउटा गाडी र त्यसको ड्राइभरसँग तुलना गर्दा स्पस्ट हुन्छ । एउटा गाडीलाई देश, र त्यो गाडीमा भएका यात्रुहरूलाई जनता मानौं । गाडीमा भएको ड्राइभर देशको नेताजस्तो हो जसलाई मानिसहरूले विश्वास गरी देश र समाज हाँक्ने जिम्मेवारी दिएका हुन्छन् । ड्राइभर कुशल भएको खण्डमा यात्रुहरूलाई सकुशल गन्तव्यसम्म पु¥याउँछ तर अकुशल र लापरवाह ड्राइभरले दुर्घटना निम्त्याई यात्रुहरूको ज्यान जोखिममा पारिदिन सक्छ । एउटा अकुशल ड्राइभर जस्तै अकुशल, लापरवाह, महत्वकांक्षी, आपराधिक मनस्थिति बोकेको चरित्रहीन नेताले सारा देश र जनतालाई अस्थिरता, गरिबी र अराजकतामा धकेलिदिन सक्छ भने कुशल नेताले देश र नागरिकहरूलाई सही दिशानिर्देश गर्न सक्छ ।
साँचो अर्थमा राजनीति त्यो व्यक्तिले गर्नुपर्छ जोसँग सत्तामा पुगेर अरुलाई दबाउने, आफ्नो स्वार्थ र महत्वकांक्षा सिद्ध गर्ने कामना भन्दा पनि देश र जनताको सेवा गर्ने भाव छ । जोसँग विचार र नेतृत्व गर्न सक्ने क्षमता छ । जो दूरदर्शी र असल चरित्रको छ । साथै जसले देश र समाजको मुद्दा, परिस्थिति, कुटनीति र अर्थराजनीति बुझी सही नीति नियम कार्वान्वयन गर्न सक्छ । यस्तो व्यक्तिले राजनीति गरेको खण्डमा देश र जनताले उचित निकास पाउनेछन् । अन्यथा महत्वकांक्षा, स्वार्थी र हीनताले ग्रसित व्यक्तिले राजनीति गरेको खण्डमा देश र जनताको स्थिति झन् पीडादायी हुन पुग्छ ।
आज यो देश दिनानुदिन असफलतातर्फ धकेलिँदै जानुको पछाडि हाम्रो नेतृत्वले समग्रको हितभन्दा आफ्नो तथा आफ्ना वरिपरिका मानिसहरूको मात्र स्वार्थ सिद्ध गर्नेतर्फ प्रेरित भएको कारणले गर्दा हो भनेर भन्दा फरक नपर्ला ।
यस किसिमका मानिसहरूले विचारको भन्दा महत्वकांक्षा र स्वार्थको राजनीतिलाइ बढावा दिई पैसा र शक्तिलाई नै सर्वोपरी ठानी नागरिकहरूको समस्याहरूलाई गौण ठान्दछन्, जसका कारण हाम्रो समाजमा सुशासन नभई अराजकताले प्रश्रय पाइरहेको अवस्था छ ।
देशको आवश्यकता अनुसार कुशलभन्दा कुशल नीति बनाउने, संविधान लेख्ने र विकासका योजना बनाई त्यसलाई कार्वान्वयन गर्न सक्ने व्यक्तिहरूलाई बाहिरबाट आयात गर्न सकिन्छ तर इमानदारिता र चरित्र किनेर ल्याउन सकिँदैन । त्यो कुरा व्यक्तिमा निहित हुने गुण हो । नेतृत्वमा बस्ने मानिसले राम्रो सोच र नीतिका साथ असल तथा इमानदार भई सबैको हितमा काम गर्ने हो भने देश जस्तोसुकै नराम्रो र खराब परिस्थितिमा भए पनि सकारात्मक परिवर्तनतर्फ उन्मुख गराउन सकिन्छ भन्ने कुराको उदाहरण हाम्रो आँखा अगाडि विश्व परिवेशमा प्रशस्त छन् ।
एकै जना वा केही सीमित मानिसले संसारमा ठूलो परिवर्तन दिन सक्छन् । नेल्सन मण्डेला, महाथिर मोहम्मद, लि क्वान यु, देङ जिआउ पिङ, आदिलाई उदाहरणको रूपमा लिन सकिन्छ । परिवर्तनको निम्ति चाहिने सबैभन्दा महत्वपूर्ण कुरा अठोट हो, जसले सबै कुरालाइ साकार बनाउँछ । हामी नेपाली जनतालाई प्रतिबद्धता, नीति, योजना र त्यसलाई कार्वान्वयन गर्न सक्ने क्षमता भएको असल नेतृत्व चाहिएको हो, जो आफ्नो व्यक्तिगत स्वार्थ र महत्वकांक्षाभन्दा माथि उठी देश र जनताको हितको लागि काम गर्छ । त्यस्तो नेतृत्वलाई कुनै पार्टी विशेषले मात्र नभई सबै जनताले आफ्नो नेताको रूपमा स्वीकार्न समस्या हुँदैन । त्यस्तो नेतृत्वको परिकल्पना मात्र होइन यथार्थमा पनि सम्भव छ, मात्र इमानदारिता, दुरदर्शिता र अठोटको खाँचो छ ।
हाल देशमा सुशासन र विकासका निम्ति हामीलाई असल इमानदार र सबल नेतृत्वको खाँचो छ, जसले देशलाई उचित निकास दिन सक्छ । त्यस किसिमले नेतृत्वको चयन गर्ने जिम्मेवारी जनताको हो, जसले आफ्नो नेता छनोट गर्दा धेरै विचार पुर्याउन आवश्यक छ । स्थानीय निर्वाचन नजिकिँदै जाँदा यो विषय अझ महत्वपूर्ण हुन जान्छ । नागरिकहरूले आफ्नो सही प्रतिनिधि छान्न सकेको खण्डमा समाजको हित गर्दछ, तर यदि राम्रो व्यक्तिको चयन गर्न चुकेको खण्डमा स्वार्थी र महत्वाकांक्षी व्यक्तिहरूले शासन सत्तामा हालीमुहाली र चलखेल गर्न मौका पाउँछन् । जसको परिणाम आपराधिक मनोवृत्ति भएका केही सीमित व्यक्तिहरूबाहेक अन्य सबैको अहितमा हुनेछ । त्यसैले हामी नागरिकहरूले हाम्रो प्रतिनिधि कस्तो छान्दैछौं भन्ने कुरामा विशेष सतर्कता अपनाउन जरुरी छ ।