झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलैँचीको उत्पादकत्व वृद्धि र व्यवसाय प्रवद्र्धनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घको बिर्तामोडमा शनिबार आयोजित पाँचौँ महाधिवेशनमा उनले अलैँचीको नर्सरीदेखि बजार प्रवद्र्धनसम्म सरकारबाट सहयोग हुने बताए ।
उनले अलैँचीको उत्पादन र निकासी बढाउन नीतिगत रूपमा प्रदेश सरकारले निर्णय गरी स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । मुख्यमन्त्री कार्कीले साना तथा मझौला व्यवसायको प्रवद्र्धन र उद्यमशीलताको विकासका लागि स्वीस सरकारसँगको सहयोगमा प्रदेश सरकारले ‘उदय’ परियोजना सुरु गरेको बताउँदै भने– ‘रु ३० लाखदेखि तीन करोडसम्म साना तथा मझौला उद्योगमा लगानी गर्दैछौँ ।’ उनले अलैँची, चिया, बाँस दुग्ध पदार्थ लगायतका क्षेत्रमा उत्पादन र बजार बढाएमा कोशी प्रदेश समृद्धि यात्रामा तीव्र गतिमा अघि बढ्ने धारणा व्यक्त गरे ।