इन्दु कुमारी साह
विराटनगर । ट्राफिक व्यवस्थापनका लागि सडकमा राखिने सचेतनाका सामग्रीमा पछिल्लो समय व्यापारिक विज्ञापन समेत देखिन थालेको छ । विराटनगरका केही व्यापारीहरूले ट्राफिक प्रहरीलाई सहयोग गर्ने उद्देश्यले उपलब्ध गराएको सचेतनाका सामाग्रीमा आफ्नो विज्ञापन समेत घुसाउने गरेका हुन् ।
उक्तसामाग्रीमा सानो आकारमा आफ्ना व्यापारिक प्रचारसम्बन्धी जानकारी पनि लेख्ने गरेका छन् । सडकमा राखिने सूचना सामग्री जस्तै ट्राफिक चिन्ह, चेतावनी बोर्ड, डिभाइडरमा टाँसिने संकेत लगायतका हुन्छन् । यी सुचना तथा सामाग्री यातायात अनुशासन कायम गर्न, दुर्घटना रोकथाम गर्न र सडक प्रयोगकर्तालाई आवश्यक निर्देशन दिन प्रयोग गरिन्छ । तर, यस्ता महत्वपूर्ण सामग्रीमै व्यापारिक प्रचार गर्नु उचित नभएको भन्दै आलोचना हुने गरेको छ ।
यस्ता प्रचारले चालकको ध्यान विचलित हुने र दुर्घटनाको सम्भावना बढ्ने समेत जोखिम हुन्छ । महानगरपालिकाले प्राथमिक रूपमा उपलब्ध गराउनुपर्ने सामग्री अभावमा, ट्राफिक प्रहरीले व्यापारीसँग सहयोग लिनु परेको हो । विराटनगरमा सडक सुरक्षाका लागि चाहिने पर्याप्त चिन्ह, बोर्ड र उपकरणको व्यवस्था महानगरले समयमै गर्न नसक्दा प्रहरीलाई यस्तो उपाय अपनाउन बाध्य भएको देखिन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख राजन लम्सालका अनुसार पर्याप्त स्रोत नहुँदा स्थानीय व्यापारीहरूले सहयोगस्वरूप सामग्री उपलब्ध गराइदिएका हुन् । प्रमुख लम्सालले भने सडक आसपासका स्थानिय नागरिकहरुले समेत ट्राफिक व्यवस्थापनका लागि सडकमा सामाग्री आवश्यक भएको भनेर माग गर्ने गरेका छन् । सोहि अवस्थामा व्यापारीहरुले सामाग्री उपलब्ध गराउने गरेका हुन् तर त्यसमा उनीहरूले व्यापारिक प्रचार सामाग्री थप गरेर राखेका छन् । महानगरपालिकाका नगर प्रमुख राजन पौडेलका अनुसार सडकमा राख्न आवश्यक यातायात सूचना तथा व्यवस्थापन सामाग्रीमा महानगरलेनै ट्राफिक प्रहरीको माग अनुसार उपलब्ध गराउने गरेको बताएका छन् ।
सडक सवारी सुरक्षा र अनुसारसनका लागि राखिने सामाग्रीले नै अनुशासन मिचेको देखिन्छ । साईन अप प्रा.लि.ले विराटनगर महानगरको विज्ञापन गर्ने ठेक्का पाएको छ । यस कम्पनिले प्रत्येक वर्ष ५० लाख राजस्व महानगरमा बुझाउने गरेको छ । साईन अप प्रा.लि.का प्रबन्ध निर्देशक किरण गिरीका अनुसार महानगरपालिकाका कुनै पनि स्थानमा राखिने वोर्डको राजस्व लाग्दछ । उनको अनुसार राजस्व बुझाए उक्त सामाग्रीमै पनि प्रचारका सामाग्रि थप्न मिल्छ । उक्त राजस्वको दर रेट भने विराटनगर महानगपरपालिकाको आर्थिक ऐन २०८० अनुसार महानगरभित्र राखिने विज्ञपन करको दर लिने गरीएको गिरीले बताएका छन् ।
ट्राफिक चिन्ह वा चेतावनी सामग्रीमा कुनै पनि अतिरिक्त जानकारी राख्नु अनुचित हो । सडकमा चलाइएका सवारी चालकलाई एक सेकेन्डमै बुझ्नुपर्ने सूचना कुनै प्रचारका कारण अलमलिएमा दुर्घटनाको खतरा हुन्छ । सडकमा राखिने ट्राफिक चिन्ह, बोर्ड वा सूचना सामग्रीमा अन्य प्रकारको विज्ञापन राख्न नपाइने महानगरले समेत जनाएको छ । तर व्यवहारमा भने स्रोत र साधनको कमीका कारण यस्तो अभ्यास बढेको देखिन्छ । अनुशासन सिकाउने बोर्डमै व्यापारिक विज्ञापन राख्दा त्यसको सन्देश कमजोर हुन्छ । अब यस्तो अवस्थाको समाधानका लागि विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीलाई आवश्यक सामाग्री समयमै उपलब्ध गराई स्पष्ट, आकर्षक र सुरक्षित सूचना राख्न सक्ने व्यवस्था गर्नुपर्छ । यसरी मात्र सडक सुरक्षासँगै अनुशासन कायम गर्ने मूल उद्देश्य पूरा हुन सक्छ ।