विराटनगर । प्लास्टिक प्याकेजिङका उत्पादनमा पायनियरका रूपमा चार दशकदेखि उत्पादनमा क्रियाशील एमएम पोलिमरले लगानी विस्तार गर्दै विश्वप्रसिद्ध मेसिन थप्ने भएको छ ।
प्याकुरेल दाजु–भाइद्वारा सञ्चालनमा रहेको एमएम ग्रुप अफ कम्पनीजले उद्योगमा १ अर्ब लगानी थप्तै क्यानाडाको हस्की इन्जेक्सन मोल्डिङ सिस्टम्ससित मेसिन खरिदको सम्झौता गरेको हो ।
उद्योगले १५ वर्षअगाडि नै यस उद्योगमा अत्याधुनिक रोबोटिक प्रविधिबाट उत्पादन हुने उच्चस्तरीय प्रविधि भित्र्याएको थियो ।
उद्योगका सञ्चालक सुयश प्याकुरेलले हस्की इन्जेक्सनको मेसिन ल्याएर उद्योगको विस्तार गर्दा ७० करोड लगानी हुने जानकारी दिए । यसपछि उद्योगको लगानी थप ३५ प्रतिशतले वृद्धि हुनेछ ।
सञ्चालक प्याकुरेलले यसबाहेक यसै वर्ष हस्कीको मेसिनसहित रिसाइक्लिङ लयायत अन्य प्रोजेक्टमा गरी कुल १ अर्ब लगानी विस्तार गर्ने योजना रहेको जानकारी दिए । हस्की इन्जेक्सनको प्रविधि रिजिड (ठोस) प्याकेजिङ उद्योगका लागि विश्वमै सबैभन्दा प्रसिद्ध मानिन्छ । प्याकेजिङ अन्तर्गत रिजिड र फ्लेक्जिबल गरी २ प्रकार हुन्छन् । पातला प्लास्टिक वा कागजमा प्याक गरिएका वस्तुलाई फ्लेक्जिबल र प्लास्टिकका बोतल, जार लगायतलाई रिजिड भनिन्छ ।
अमेरिका लगायत विकसित मुलुकमा उत्पादन हुने एफएमसीजी जस्तै हल्का पेय पदार्थ र अन्य धेरै उत्पादनका प्याकेजिङमा यही प्रविधिबाट उत्पादित प्याकेजिङ सामग्री प्रयोग गर्नुपर्ने अनिवार्यता छ ।
एमएमका निर्देशक सुयश प्याकुरेलका अनुसार यस ग्रुप अन्तर्गत विगत १५ वर्षदेखि हेटौँडामा २ र विराटनगरमा १ गरी ३ वटा ठुला उद्योग छन् । जसमध्ये हेटौँडामा हस्कीको युनिट थप्न लागिएको हो ।
दुबै स्थानका उद्योगमा इन्जेक्सन, एक्टरुसन, ब्लो र अन्य स्वचालित प्रणाली बाट चल्ने उच्च गुणस्तरका ६० भन्दा बढी मेसिनबाट ४ सयभन्दा बढी वस्तुको उत्पादन गरिन्छ ।
एमएमको हेटौँडा उद्योगमा यसअघि पनि हस्की इन्जेक्सनका मेसिन जडान भइसकेका छन् । जसमा वार्षिक ८ हजार टन उत्पादन क्षमता छ । त्यस्तै विराटनगरको उद्योगको वार्षिक ३ हजार टन उत्पादन क्षमता छ ।
नेपालमा रिजिड प्याकेजिङ क्षेत्रमा विश्वस्तरीय प्रविधि प्रयोग गरेर उत्पादन गर्ने एमएम ग्रुप मात्र भएको उनको दाबी छ । प्याकुरेलले नयाँ लगानीले कम्पनीलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले यस सिस्टमले प्याकेजिङ सामग्रीको उत्पादनमा विश्वकै १ नम्बरको दर्जा पाएको उल्लेख गर्दै आगामी ६ महिनाभित्र यसको जडान सकेर उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताए । ‘हामी हाम्रा ग्राहकलाई विश्वस्तरीय उत्पादन र सेवाको अनुभव दिलाउन निरन्तर लगानी गर्दै आएका छौँ । यस युनिटले कम्पनीलाई बढ्दो बजारको माग पूरा गर्न मात्र होइन, अझ उच्च गुणस्तर, दक्षता र विश्वसनीयता सहितका प्याकेजिङ सामग्री उत्पादन गर्ने क्षमता प्रदान गर्नेछ’, प्याकुरेलको भनाइ छ ।
नेपालमा इन्टरमिडियट प्याकेजिङ उद्योगमा अग्रणी रहेको एमएम ग्रुप अफ कम्पनीजले बहुराष्ट्रिय कम्पनी र स्वदेशी उद्योगलाई एफएमसीजी, औषधि, खाद्य, पेय पदार्थ, कृषि, रसायन, लुब्रिकेन्ट लगायतका उत्पादनका लागि प्याकेजिङ सामग्री आपूर्ति गरिरहेको छ । यस ग्रुपले विराटनगरमा ४० वर्षपहिले एमएम प्लास्टिक उद्योगको स्थापना गरेको थियो । ग्रुपले बहुराष्ट्रिय र स्वदेशी गरी आफ्ना ४ सय ग्राहक प्रतिष्ठानलाई ४ सय प्रकारकै प्याकेजिङ सामग्री उपलब्ध गराइरहेको जनाएको छ । लगानी विस्तारअन्तर्गत विराटनगर र हेटौँडामा उप्त्पादन क्षमता बढाइने छ ।
एमएमका सामग्री खरिद गर्नेमा कोकाकोला, युनिलिभर, डाबर नेपाल, पर्फेटी भ्यान मेली, सीजी रिलायन्स जस्ता बहुराष्ट्रिय कम्पनी छन् । राजनीतिमा सक्रिय राजविराजका तीन दाजुभाइ सुशील, सुबोध र सुमन प्याकुरेल विराटनगर आएर २०४१ सालमा एमएम प्लास्टिक उद्योगको स्थापना गरेका थिए । उनीहरूले विराटनगरमा प्लास्टिकका खेलौनाका उद्योगबाट उत्पादन सुरु गरेका थिए । यसपछि प्लास्टिकका डाल्डा जार लगायतका प्याकिङ सामग्रीको उत्पादन गरे । अहिले पनि एकै परिवारको छानोमुनि रहेका उनीहरूले उद्योग सञ्चालनमा भने छोरा पुस्तालाई अघि सारेका छन् । जसअनुसार विराटनगरमा सुयश र सृजन तथा हेटौँडामा स्वागत प्याकुरेल र बुहारी नूररानी ले व्यवसाय हाँकिरहेका छन् । पहिलो पुस्ता राजनीति र समाजसेवामा सक्रिय छ ।
साभार : बिजमाण्डु