विराटनगर । भारतले नेपालबाट निकासी हुने प्लाइउडमा अवरोध सिर्जना गरेपछि उद्योगीहरुले सरकारसँग गुहार माग्न थालेका छन् । उद्योगीहरुले प्रधानमन्त्री, पराराष्ट्रमन्त्री तथा प्रदेशका मुख्यमन्त्री समेतलाई निकासी सहजीकरण पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
उद्योगीले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र पराराष्ट्र मन्त्री आरजु राणा देउवासँग प्लाइउड निकासीमा सहजीकरणको अनुरोध गरेका हुन् । महासंघका अध्यक्ष होम घिमिरेका अनुसार प्रधानमन्त्रीलाई गत भदौ ७ गते र पराराष्ट्रमन्त्रीलाई भदौ ९ गते भेटेर ज्ञापनपत्र बुझाइएको थियो । यो ज्ञापनपत्र बुझाएपछि भारतले अझै झमेला थप्दै गएपछि उद्योगीहरु निराश भएका छन् ।
भारतले नेपाली प्लाइउड निर्यातकर्तालाई विभिन्न बहानामा अंकुश लगाउँदै आएको छ । देशभर नै यो समस्या छ । तर, पूर्वका काकडभिट्टा पारी पानीटंकी र जोगबनी नाकामा भने अझै कडाई गरिएको घिमिरे बताउँछन् ।
भारतले ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) बाट जारी गर्ने आइएसआई सर्टिफिकेट जारी गरेका उद्योगको निर्यातमा समेत अवरोध गरेको छ । जसका लागि उसले निर्यात भएको मालवस्तुको नमूनामा उसको मापदण्ड अनुसारको रङ्गदेखि अन्य भौतिक बनावट समेत नपुगेको दावी गर्दै आएको छ । पछिल्लो समय भने आइएसआइ नविकरण नगरेको भन्ने आरोप समेत लगाउँदै आएको छ । तर, यसका लागि सबै प्रक्रिया नेपाली उद्योगले पुरा गरिसकेपनि प्रमाणित गर्ने काम बिआइएसले रोकेको घिमिरेको भनाई छ ।
नेपालभर अहिले ८५ वटा प्लाइउड उद्योग स्थापना भएका छन् । जसले नेपालको कच्चा पदार्थ प्रशोधन गरेर भारत निर्यात गर्दै आएको छ । भारतले २०८१ प्mागुन १६ गतेदेखि बिआइएसमार्फत आइएसआई सर्टिफाइड हुनुपर्ने प्रावधानलाई अनिवार्य गरेको थियो । त्यसपछि नेपालका ८५ मध्ये ५१ उद्योगले बिआइएसमा निवेदन दिएका थिए । त्यसमा ९ वटा उद्योगलाई मात्रै आइएसआई सर्टिफाइड गरिदिएको थियो ।
अध्यक्ष घिमिरेका अनुसार भारतको नियममा बाँधिन नेपाली उद्योगीहरुले ढेडवर्षदेखि आवेदनसहित प्रक्रिया पुरा गरेर शुल्क समेत बुझाइसकेका छन् । तर, भारतको बिआइएसले त्यसको कार्यान्वयन अलमल गर्दै टारिदिएको थियो । गत जेठमा ९ वटा उद्योगलाई उपलब्ध गराएपछि निकासी गरिरहेको बेला साउनको दोस्रो सातादेखि भारतले पुनः अंकुश लगाउँदै अवरोध सिर्जना गरिदिएको हो । देशभरमा रहेका ८५ उद्योगमध्ये ६६ वटा उद्योग भने कोशी प्रदेशमा मात्रै रहेका छन् ।
अहिले भारतीय भन्सार पानीटंकी र जोगबनीले नेपालबाट निर्यात भएको प्लाइउडका ट्रक रोकेर विभिन्न नाममा चेकजाँच गर्ने र रोकेर राख्ने गरेको छ । अध्यक्ष घिमिरेले प्रधानमन्त्री र पराराष्ट्रमन्त्रीमार्फत अनुरोध गरिएपछि आगामी भारत भ्रमणमा यसको दिर्घकालिन हल हुने विश्वास व्यक्त गर्नुभयो । प्लाइउड उद्योग उत्पादन संघ कोशीका अध्यक्ष सीताराम अग्रवालले नेपाली उद्योगले सहनु परेको समस्या समाधानमा सबैसँग आग्रह गरिसकिएको बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री र पराराष्ट्रमन्त्रीलाई केन्द्रीय समितिले ज्ञापनपत्र बुझाइसकेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समेत सोमबार प्रदेश समितिले ध्यानाकर्षण गराइएको छ । नेपालबाट गत आर्थिक वर्ष सात अर्ब बढीको प्लाइउड निर्यात भएको थियो । तर, चालु आर्थिक वर्ष लागेपछि त्यसको ग्राफ घटेको छ ।