इन्दु कुमारी साह
विराटनगर । सरसर गाडीमा गुडिरहेको अवस्थामा अगाडी खाडल आउँछ, झ्याप्प ब्रेक थिचेर गति घटाइन्छ । फेरी केहि स्पिडमा बढ्यो, खाडल आउँछ झ्याप्प ब्रेक थिच्यो गति घट्छ । अनि बारम्बार रफ्तारमा सवारी गुडाउन बाधक बन्ने चाँहि विराटनगर महानगरपालिकाको कालोपत्रे सडकका खाल्डा हुन् ।
महानगरका सडकमा कुवा जस्ता खाडल छन् । एकवर्ष अगाडीसम्म कालोपत्रे सुन्दर सडक एकवर्षकै अवधीमा खाल्डा जोगाउने ध्याउन्न बढाउनेस्तरमा बिग्रेको हो । महानगरपालिकाको क्षेत्रात्रिकार भित्र पर्ने प्रायः सडक उस्तै भइसकेका छन् । त्यस बाहेक कोशी राजमार्गको कुरै नगरे हुन्छ । रानीदेखि धरानसम्मको सडकको विराटनगर महानगरपालिका खण्डको काम समेत सडक डिभिजन कार्यालयले हेर्ने हो । तर, त्यस बाहेक महानगरपालिका क्षेत्रको सडकका खाल्डा मर्मतमा ढिलाई हुँदा एकवर्षकै अन्तरमा सवारी गुडाउनै असहज स्थिति भइसकेका छन् ।
विराटनगर महानगरका मुख्य सडकदेखि लिएर भित्री शाखा सडकसम्म खाल्डाखुल्डी बढ्दै गएको हो । जसकारण महानगर भित्र सवारी साधनमा आवतजावत गर्दा दुर्घटनाको जोखिम संभावना बढेको छ । कालोपत्रे गरिएका सडकहरूमा कुवा जस्तै खाल्डाखुल्डीमा बढ्दै जाँदा त्यसको झन्झट झन थपिन्छ ।
सडकमा यात्रा गर्ने चालकदेखि सर्वसाधारणसम्मलाई दिनहुँ सडकमा यो समस्या झेल्नु परेको छ । सडक निर्माण भएपछि त्यसको मर्मत समयसमयमा भईरहनुपर्ने हुन्छ । तर, निर्माण भइसकेको सडक मर्मतका लागि बजेटको जोहो नगर्ने समस्या हुन्छ । नयाँ बनाउनेमा मात्रै बजेट प्रवन्ध गरेर मर्मतलाई वेवास्ता गर्दा सवारीको चाप अधिक हुने सहरका सडक थाहै नपाई कच्चीमा परिणत भईसक्छन् ।
वर्षातको पानीको निकास सहज नहुने सहरका लागि त झन् सडक बिग्रनु सामान्य नै हुन्छ । सडकमा परेका खाल्डामा वर्षातसँगै पानी भरिने अनि सवारी गुड्दा अझै भत्केर बढ्ने संभावना रहन्छ । खाल्डाखुल्डीमा मोटरसाइकल, साइकल र पैदल यात्रु सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । महानगरपालिकाले बहुवर्षे योजना अन्तर्गत अहिले मर्मतको प्रक्रिया अगाडी त बढाएको छ । तर, मर्मतको ठेक्का पाएको कम्पनीले काम सुरु गरे नगरेको नागरिकले भने नदेखेको बताएका छन् ।
खाल्डाखुल्डी मर्मतका लागि महानगरपालिाले सडकका खाल्डा, नाला, फुटपाथ समेत मर्मत गर्ने गरी ठेक्का व्यवस्थापन गरिसकेको शहरी विकास तथा योजना महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिएका छन् । उनका अनुसार अहिले मर्मत सुरु भइसकेको छ । विराटनगर भित्रका सडक मर्मतको ठेक्का पराजुली निर्माण सेवाले लिएको छ । यस योजनाको ठेक्का महानगरले २०८१।१२।१५ गते ९८ लाख ६० हजारमा आह्वान गरेको थियो । यस कम्पनीले भने ८३ लाख १५ हजारमा कबोल गरेको हो । निमार्ण सम्झौता गर्नसाथ २०८२।०२।२९ गते बाट मर्मत कार्य थालेको दावी गरिएको छ ।
महानगरपालिकाका क्षेत्रीय सहरी विकास परियोजना (आरयुडीपी) अन्तर्गत निर्माण भएका सडकको मर्मत ठेक्का लगाएको हो । ठेक्का सम्झौता अनुसार २०८२ चैत ३० गतेसम्ममा सम्पन्न गर्नुपर्नेछ । जसमा मर्मत ११ स्थानमा ४७५ मिटरमा कालोपत्रे, मेनहोल ८ स्थानमा, पाइप बिछ्याउने ३३० मिटरमा, नाला मर्मत तीन स्थानमा १८२ मिटर र फुटपाथ मर्मत १०७ स्थानमा रहेको छ ।