प्रेम देवान
विराटनगर । गत भदौ १ गते ५८ औं राधाकृष्ण रथयात्रा सकिएसँगै रथलाई कसरी संरक्षण गरेर राखिएको होला ? भन्ने विषयमा धेरैको मनमा जिज्ञासा र प्रश्न उठेको हुनसक्छ । हुन पनि कसरी नहोस् विराटनगरको पहिचान, धार्मिक तथा सामाजिक सद्भावसँग जोडिएको महत्वको प्रतिक राधाकृष्ण सवार गराईने रथको संरक्षण सबैलाई होस् भन्ने लाग्नु आस्थाका हिसाबले पनि सामान्य हो । अर्को कुरा यसपटक विराटनगरको नयाँ ऐतिहासिक रथलाई महत्वको रुपमा लिएको थियो । झन्डै ५७ बर्षपछि विराटनगरको रथलाई आर्कषण ढंगबाट साजसज्जावट गरेर निर्माण गरिएको छ । गत भदौ १ गते विराटनगरमा भव्य रुपमा त्यसलाई नगर परिक्रमा गराउँदा नै धेरैले चासोसँगै आकर्षक देखिएको प्रतिक्रिया दिएका थिए ।

विराटनगरमा निकालिएको नयाँ रथ विगतको भन्दा फरक बनाइएको थियो । त्यसैले पनि रथको संरक्षण महत्वपूर्ण रुपमा लिइन्छ । रथलाई राधाकृष्ण रथयात्रा समितिले के कसरी राखेको होला त भन्ने विषयमा आज हामीले स्थलगत रुपमा नै ओवीको रिर्पोटिङ् गरेका हौं । राधाकृष्णलाई सवार गराएपछि त्यसलाई विराटनगर–१ राधाकृष्ण मन्दिर पछाडी टेन्टको ओत लगाएर राखिएको छ । आगामी दिनमा थप व्यवस्थित संरक्षण स्थलमा राख्ने तयारी समेत भइरहेको समितिले जनाएको छ ।

रथयात्रा मूल समारोह समिति सचिव कृष्ण कार्कीका अनुसार रथ निर्माण भएको पुरानै स्थानमै राखिएको छ । उनका अनुसार, रथलाई वरीपरी बास र त्रिपालले पूर्ण रूपमा घेराबेरा गरी सुरक्षित बनाइएको छ । “यो रथ हाम्रो सांस्कृतिक धरोहर हो, यसलाई दीर्घकालीन रूपमा संरक्षण गर्न अहिले अस्थायी तरिकाले सुरक्षित गरिएको छ,” कार्कीले भने ।
रथलाई दीर्घकालिन सुरक्षित राख्नको लागि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालले ‘रथ घर’ बनाउने प्रतिबद्धता जाहेर गरेको कार्कीले बताए । पुरानो जिर्ण धर्मशालालाई भत्काएर अहिले ४ सय जना अट्ने ५ तले नयाँ भवनको निर्माण कार्य भईरहेको छ । कोशी प्रदेश सरकारले राधाकृष्ण धर्मशाला निर्माणको लागि बहुबर्षिय योजना अन्तर्गत अहिले तत्कालको लागि २ करोड निकासा गरि भवनको निर्माण कार्य अगाडी बढाएको कार्कीले जानकारी दिए ।

यता रथ राख्नको लागि पनि विराटनगर महानगरपालिकाले आर्थिक सहयोग गर्नेभएपछि छुटै रथघर बन्ने कार्कीले बताए । तत्कालको लागि भने रथलाई घामपानीले नभेटोस् भनेर घेराबार गरेकाछौँ,’’ उनले भने ।
यसपटक पहिलाको भन्दा रथको उचाइ, चौडाइ र लम्बाइ बढाइएको थियो । सबैतर्फ काठ प्रयोग गरी विभिन्न भगवानका आकृति लगायतका धार्मिक अस्था जनाउने बुट्टाहरू कुँदेर बनाइएको छ । ऐतिहासिक रथलाई स्वदेशी र विदेशी कालिगडहरूले परिमार्जन गर्दै नयाँ स्वरुपमा बनाएका थिए । पेगोडा शैलीको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ ।
विराटनगरका केही व्यक्तिहरूले विक्रम संवत १९८८ सालदेखि ‘खटयात्रा’ रूपमा शोभायात्रा सुरू गरेको इतिहास रहेको रथयात्रा मुल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए । त्यसलाई २०२२ सालदेखि बयलगाडामा निकालिन थालियो । २०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरेपछि यो रथयात्राको सुरुवात भएको बताइएको छ । त्यस बेलादेखि सुरु भएको रथलाई यसपटक नयाँ ढंगबाट पुनर्निर्माण गरिएको हो ।

रथको संरक्षणका काममा स्थानीय स्वयंसेवक, समिति र समाजसेवीहरूको पनि सक्रियता रहेको रेग्मीको भनाई छ । सांस्कृतिक धरोहर संरक्षणका लागि रथलाई आगामी दिनमा थप व्यवस्थित संरक्षण स्थलमा राख्ने तयारी समेत भइरहेको उनले जानकारी दिए । विराटनगरमा हरेक बर्ष कृष्णाजन्माअष्टमीको भोलीपल्ट निकालिने रथ यात्रामा नेपाल र भारतबाट हजारौं भक्तजन सहभागी हुने गरेका छन् । हिन्दु धर्मग्रन्थहरूमा रथको महिमा र श्रीकृष्णले महाभारत लडाइँमा रथ कै प्रयोग गरेको उल्लेख छ । कृष्णको स्मरण गराउने यो रथयात्रामा लाखौँ श्रद्धालुभक्तजहरुको कामकाज छोडेर रथको दर्शन गर्न आउने गरेकाछन् ।