इन्दु कुमारी साह
विराटनगर । सुत्केरी अवस्थामा श्रीमानको साथ नपाएकी २६ वर्षीया एक महिला, जसको बच्चाको न्वारानमा समेत श्रीमान उपस्थित भएनन्। अझ अपमान उनले सहनुपर्यो । श्रीमानले बच्चा आफ्नै नभएको भन्दै अस्वीकार गरे। अन्ततः सत्य साबित गर्न उनलाई डीएनए परीक्षण गराउनुपर्ने बाध्यता आयो। परीक्षणपछि बच्चासँग उनको डिएनए म्याच भयो । त्यसपछि बच्चा र पत्नीलाई स्वीकारे। तर, त्यो बाध्यताको स्वीकारमा परिणत भयो । उनीसहित परिवारले श्रीमतीमाथि दिनु दुःख दिए । घरबाट निकालिदिए ।
त्यति मात्रै हैन विवाहपछि उनले ससुराबाट यौन हिंसा समेत सहनुपर्यो। आवाज उठाउँदा उल्टै श्रीमान र सारा परिवारकै कुटपिटको शिकार बन्नुपर्यो। सन्तानलाई जन्म दिँदा समेत शंका गरेर डिएनएबाट प्रमाणीत गराउनु प¥यो । तर, पनि एकदिन घरनिकाला भइन्, सडकमा अलपत्र परेकी अवस्थामा रिक्सा चालकले प्रहरीसम्म पुर्याए । अहिले ती महिला अंश चलनदेखि घरेलु हिंसा, यौन दुर्व्यवहार र अदालतको अवहेलनासम्मका मुद्दा लडिरहेकी छिन् ।
यो एउटा मात्र कथा होइन । हजारौं महिलाका मौन पीडाका आवाजहरू हुन्। यस्ता धेरै घटना अझै घरभित्रै दफन छन्। महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले जनवरीदेखि जुन २०२५ सम्म संकलन गरेको तथ्याङ्कले पनि यही कठोर यथार्थ देखाउँछ । कोशी प्रदेशका तीन जिल्ला (सुनसरी, मोरङ र उदयपुर) मा जम्मा २११ वटा लैङ्गिक विभेदमा आधारित हिंसाका घटना अभिलेखिकृत भएका छन् । जसमध्ये १४० घटना (६६.४ प्रतिशत) घरेलु हिंसाका रहेका छन्।
घरेलु हिंसाभन्दा पछाडि ४६ घटना (२१.८ प्रतिशत) यौन हिंसाका दर्ता भएका छन् । जसमा जबर्जस्तीकरणी, यौन दुर्व्यवहार र बाल यौन दुर्व्यवहार प्रमुख रहेका छन् । १२ घटना (५.७ प्रतिशत) सामाजिक हिंसा अन्तर्गत बहुविवाह, बालविवाह, चारित्रिक आरोप, गालीगलौज आदि छन् भने १३ घटना (६.२ प्रतिशत) अन्य हिंसा अन्तर्गत विद्युतीय अपराध, सार्वजनिक अपमान र अलपत्रजस्ता केस रहेका छन्।
संस्थाले दिएको विवरणअनुसार, संकलित घटनामध्ये ५० जना पीडित महिलाले सुरक्षावासमा सेवा लिएका छन् भने १६१ घटनामा पीडितले हटलाइन, कार्यालय वा फिल्डमार्फत सहयोग पाएका छन्। ओरेक विराटनगरकी प्रमुख शोभा बजगाईका अनुसार महिलामाथि हुने हिंसालाई अझै पनि निजी मामिला मान्ने सोच, समाजको लाञ्छनाको डर र झन्झटिलो न्यायिक प्रक्रियाका कारण सयौं महिलाहरू बोल्न नसकी मौन सहन बाध्य छन् । उनले भनिन् प्रहरीमा जाने घरेलुहिंसाको उजुरीमा मेलमिलाप गराउने गरेको छ ।