नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका चर्चित खेलाडी क्रिस लिनलाई आफ्नो टोलीमा समावेश गरेको छ ।
विदेशी खेलाडीका रूपमा क्रिस लिनलाई टोलीमा अनुबन्ध गरिएको सुदूरपश्चिम रोयल्सले जानकारी दिएको हो । ३५ वर्षीय क्रिस लिन प्रभावशाली ब्याट्सम्यान हुन् ।
लिनलाई टोलीमा अनुबन्ध गरेपछि आफूहरू उत्साही भएको क्लबले जनाएको छ ।
क्रिस लिनले अस्ट्रेलियाका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले चार एकदिवसीय अन्तर्राष्ट्रियमा कुल ७५ रन बनाएका छन् ।
यसैगरी, १८ टी–२० अन्तर्राष्ट्रियमा उनले कुल दुई सय ९१ रन बनाएका छन् । यी दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर भने ४४ रन हो । क्रिस लिनले टी–२० क्रिकेटमा भने आठ हजारभन्दा बढी रन बनाएका छन् । यस क्रममा उनले पाँच शतक र ५५ वटा अर्धशतक पनि प्रहार गरेका छन् ।
क्रिस लिग अस्ट्रेलियन बिग बास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि हुन् । उनले इन्डियन प्रिमियर लिगसहित विश्वका धेरै फ्रेन्चाइज लिग पनि खेलिसकेका छन् ।