रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकासहित प्रहरीको गाडीमा आगजनी भएको छ । सो क्रममा प्रहरीले दर्जनौं राउन्ड फायर गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्राङ्गणमा प्रवेश गरेका आन्दोलनकारीले ढुङ्गामुढा गर्नुका साथै भित्र पार्किङमा राखिएको प्रहरीको सवारी साधनमा समेत आगो लगाएका हुन् ।
प्रहरीले आन्दोलनलाई तितरपितर पार्नका लागि निरन्तर हवाई फायर गरिरहेको अवस्था छ । ट्राफिक प्रहरी कार्यालय परिसरमा समेत आगजनी भएको छ । चन्द्रपुर नगरपालिकाको कार्यालय सहितका सवारीमा आगजनी भएको छ । नगरपलिका परिसरमा रहेका सवारी साधन तोडफोड गरि आगजनी गरेको हो । यहाँ विभिन्न स्थानमा मंगलवार बिहानदेखि नै जेनजी युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन ।जेनजी युवा पुस्ताले भ्रष्टाचारसहितका बेथितीका विरुद्ध गरिरहेको प्रदर्शनमा सोमबार भएको सरकारी दमनका विरुद्ध प्रदर्शन गरिएको हो । चन्द्रपुर, गौर, गरुडासहितका क्षेत्रमा भेला भएका उनीहरूले सरकार र प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।
जेनजी आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्गको यातायात पुणरुपमा प्रभावित भएको छ । लाई मध्यनजर गर्दै रौतहट प्रहरीले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
कफ्र्यु जारी
जेनजी प्रदर्शन उग्र बन्दै गएपछि रौतहट प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासनले अहिले ११ः३० बजे देखि अर्को सूचना जारी नहुँदासम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो ।उत्तरमा चपुर चोक देखि गैंडाटार जाने सडक को पानीटंकीसम्म, पुर्वमा चादी पुलसम्म, पश्चिममा ट्राफिक कार्यालय र दक्षिणमा घोडदेवी मन्दिरसम्म कफ्र्यु जारी भएको रौतहट प्रशासनले जारी गरेको कफ्र्यु आदेशमा उल्लेख छ ।