विराटचौकमा नेपालीरिका होटल सञ्चालक जेन–जी आकाश दुलालको भावुक स्टाटस, ३२ वर्षको परिश्रम  खरानी

<span class='c1'>विराटचौकमा नेपालीरिका होटल सञ्चालक जेन–जी आकाश दुलालको</span> <span class='c2'>भावुक स्टाटस, ३२ वर्षको परिश्रम  खरानी</span>

विराटनगर । अटोमोबाइल्स व्यवसाय हुँदै मोरङको विराटचौकमा जागेको पूर्वाञ्चल लुब ओइल (पिएलओ) ग्रुपका सञ्चालक भोलेश्वर दुलाल गाउँ उठाउने सपना देख्थे । उनको यो सपना पिएलओ ग्रुपबाट सफल बनेपछि पर्यटन क्षेत्रमा लगानी गरेको थियो । आफ्नो लगानीमा २०७८ सालदेखि एकैपटक २ वटा होटल सञ्चालनमा ल्याएको थियो । मोरङको सुन्दरहरैँचास्थित बिराटचोक र झापाको दमकमा ३ तारे होटल सञ्चालनमा आएका थिए । ६० करोड बढी लगानीमा एकैपटक २ वटा होटल सञ्चालनमा ल्याएको पिएलओ ग्रुपलाई जेन–जेड आन्दोलनले नराम्रोसँग सखाप पारिदियो । विराटचौकमा एक विघाहा जग्गामा ५५ वटा रुमसहित सञ्चालनमा आएको नेपालीरिका होटल गत २४ गते आन्दोलनका नाममा खरानी बन्यो ।

अहिले यो परिवार स्तब्ध छ । होटलका सञ्चालक भोलेश्वर दुलालको फोनमा सम्पर्क हुन सकेन । तर, उनका छोरा आकाश दुलालले एक भावुक स्टाटस लेख्दै भनेका छन् ः जेन–जेड आन्दोलनको नाममा म जेन–जेड पुस्ताले सम्हालिरहेको होटल खरानी बन्यो ।
आकाशले होटल स्थापनाको पृष्ठभूमिका आफ्ना बुबाको संषर्घशील जीवनको व्याख्या गर्दै अमेरिकाको न्युयोर्क सिटीबाट लेखेका छन्– ६ महिनाको कलिलो शिशु अवस्थामा बुवालाई गुमाएर आमाको भरपोषण र रेखदेखमा हुर्किनु भएको मेरो बुवाको ३२ वर्षको अथक मेहनत, परिश्रम लगाब र रगतको थोपा थोपाले सिन्चित थियो नेपालीरिका होटल । जसलाई बुवाले सुन्दरहरैचाको धरोहरको रूपमा यसलाई निर्माण गर्नुभयो। हरेकपल्ट म बुवालाई विदेशमा लगानी गर्ने र विदेशमै व्यवसाय गर्नुपर्छ भनेर भन्ने गर्थे। जहाँ हामी सुरक्षित व्यवसाय गर्न सक्छौँ भन्थे । तर हरेक पल्ट बुवाले “जे गर्ने हो यही देशमा गर्ने हो , यहि ठाउँमा गर्नुपर्छ।“ भनिरहनुभयो र बुवाले म जेन–जी युवा पुस्तालाई यो हस्तान्तरण गरेर यसलाई चलाउने र अगाडि बढाउने जिम्मा दिनुभयो ।

व्यावसायिक कामका लागि अमेरिकाको न्युयोर्क सिटीमा छु। नेपाल फर्किनु अघि बुवाको कैयौँ प्रश्नको जवाफ दिनुछ। तर मसँग कुनै प्रश्नको उत्तर छैनन्। म निशब्द छु। भाव विभोर छु। मेरा वाक्यहरु रोकिएका छन्, मेरा गलाहरू अवरुद्ध छन्। त्यसैले यो शब्द मार्फत व्यक्त गर्दैछु। निदाउन खोज्छु सपनामा पनि ती प्रश्न घेरिएको छु आखिर किन भयो? के का लागि भयो? कसले गर्यो? जसले गर्यो, उसले के पायो?

म युवा हुँ। जेन–जी हुँ। बुबाले सपना र लक्ष्यलाई एकै ठाउँमा राखेर मलाई दिनुभएको नेपालीरीका होटल, होटल मात्र थिएन। यो सुन्दरहरैचाको विकास को क्रम थियो, त्यहाँको शान थियो। यो केवल भौतिक संरचना मात्र थिएन, सबैको विश्वास अडेको गौरव थियो, तर हेर्दाहेर्दै त्यो खरानी भएर गयो। आगोको लप्काले नेपालीरिका जलिरह्यो। त्यहाँ इटा, माटो, ढुङ्गा, सामानहरु मात्र जलेन एउटा उद्योगीको विश्वास , व्यवसायीको निष्ठा, समाजको विकास, प्रत्येक कर्मचारीको भरोसा र मेरो जो म आफूलाई जेनजी भन्छु, सपना सबै जलिरह्यो।

जुन समाजमा बुबाले सबै कुरा लगानी मात्र गर्नुभएन , समाजलाई अगाडि बढाउन एउटा सोच दृढ संकल्प र सबैलाई विश्वासमा लिएर, सबैलाई आफैसँग अगाडि बढाउनुभयो। हजार जना भन्दा माथिलाई रोजगार दियौं, सरकारलाई जहिले कमाएको हिस्साको पारदर्शी तरिकाले तिरीरह्यो , आफूले कमाएको हिस्सालाई समाजमा लगानी गर्यो तर आज केही व्यक्तिले आवेग मा आएर, कोही व्यक्तिको व्यक्तिगत ईष्र्या र रिसले प्रगति र उन्नति देख्न नसक्ने मनोभावले गर्दा यो अराजक, अनैतिक विवेकहीन कार्य गर्नुभयो र गर्न उक्साउनुभयो। सुन्दरहरैचाका लागि आफ्नो सम्पूर्ण युवा जीवनलाई त्यसैमा लगाउनुभयो। जसको परिणाम आज नेपालीरीका होटल जल्दै खरानी भयो।

जेन–जीको आन्दोलन भ्रष्टाचार विरुद्ध अहिलेका यावत समस्या विरुद्ध थियो, न कि कसैको परिश्रम र प्रगतिको मेहनत र इमान्दारिताको विरुद्धमा थियो। तर, त्यहाँ सकारात्मक विचार दृढ सोच मेहनत परिश्रम मा तपाईहरुले परेड खेलिरहनुभयो। ’देश र समाजलाई दिनुपर्छ, आफू मात्र बनेर हुँदैन’, भन्ने पवित्र विचारमा तपाईहरुले आगोको ज्वालामुखी विस्फोटन गराउनु भो। सबैजना हेरिरहनुभयो। मुखदर्शक बनेर साक्षी बनेर अराजक मानिसहरूलाई कसैले रोक्नु भएन, हिंसालाई बढुवा दिनुभो, व्यक्तिगत सम्पत्तिलाई ध्वस्त पार्ने मौन अनुमति दिनुभयो। सबैजना किन चुप रहनुभयो? सुन्दरहरैचाको एकबद्धता, सङ्कल्प माथि कुठराघात भइरहँदा सबै अन्धो बनिदिनुभयो। सबै नसुन्ने नदेख्ने जसरी बसिदिनु भयो, जहाँ सबैको विश्वास जलिरह्यो।

हो, एक दिन तपाईँको आफ्नो पुस्ताले प्रश्न गर्नेछः
हजुरबुवा, किन त्यो दिन मौन बस्नुभयो?
हजुरआमा, किन कराउनु भएन?
बुवा, तपाईँले किन आगो लगाउनुभयो?
आमा, त्यहाँ सरसामानहरू किन चोर्न उद्दत हुनुभयो?
दिदी, त्यहाँका सिसाहरू फोड्नलाई किन अग्रसर हुनुभयो?
दाइ, किन पर्खाल र ढोकाहरू फुटाउन प्रेरित गर्दै अगाडि बढ्नुभयो?
नेपालीरिका होटल तपाईँहरू सबैले किन जलाउनुभयो?
आज हजुरहरु नेपालीरीका होटल जल्दाको तातोले न्यानो महसुस गर्दै तपाईँ निदाउनुभयो होला। तर, हामी हाम्रो परिवार र म निदाउन सकिन। म सुत्न सकिन तर, यो प्रश्न तपाईँलाई तपाईंका पछिल्लो पुस्ताले गरेको दिन तपाईं त्यो तातो न्यानोमा पनि कठ्याङ्ग्रिनु हुनेछ, मनमा बेचैनी आउनेछ। पश्चातापले तपाईँलाई भतभत पोल्नेछ । त्यो दिन लाजले पनि तपाईँलाई देखेर लाज मान्नेछ ।

बुवा, म यति भन्न चाहन्छु। म हारेको छैन। म डगमगाएको छैन।। नेपालीरिका होटलको प्रत्येक कोठाको खरानी बोकेर त्यसलाई शिरमा लाउँदै फेरि म उठ्नेछु। र यसलाई पुननिर्माण गर्ने छु। फेरि यसलाई चलाउनेछु। तपाईंप्रति म गर्व गर्छु । पिएलओ ग्रुप फेरि उठ्नेछ, हिमाल जस्तै अडिग र अटल रूपमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्