विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङबाट दिइने दैनिक सेवा तत्कालका लागि स्थगीत गरिएको छ । जेनजी युवा समूहको आन्दोलनका क्रममा आगजनी र लुटपाट गरेका कारण जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।
प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका कारण सेवा सञ्चालन गर्न नसकिने भएको हो । जसले गर्दा नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने सेवाग्राही मार्कामा परेका छन् ।
अराजक समूहले आगजनी गर्दा प्रशासनको नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रका सबै अन्य अभिलेख जलेका छन् । अन्य महत्त्वपूर्ण कागजात र उपकरणहरु पनि जलेर खरानी भएको छ । तत्काल सेवा प्रवाह गर्न नसक्ने भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिएका छन् । कम्प्युटर प्रिन्टर जलेका कारण उनले आइतबार हस्तलिखित सूचना जारी गरे ।