इन्दु कुमारी साह
विराटनगर । देशभर चर्किएको जेनजी आन्दोलनको प्रभाव विराटनगरमा पनि पर्नु सामान्य थियो । आन्दोलनको क्रममा सरकारी कार्यालयसहित निजी सम्पत्तिमा समेत आगजनी र तोडफोडका घटनाहरू भए । आन्दोलनकारीले मात्रै हैन स्वार्थका लागि व्यक्तिले समेत यो आन्दोलनलाई दुरुपयोग गरेर संरचना भत्काउने प्रयास गरेका घटनाहरु बाहिर आइरहेका छन् । राजनीतिक दलका कार्यकर्तादेखि घुसपैठीया, चोरीचकारी गर्नेको त आन्दोलनमा बिगबिगी नै देखियो । सबैको आड भनेको जेनजी थियो ।
यस्तै विराटनगर ९ स्थित हिमालय रोडमा रहेको संरचनामा तोडफोड गर्न पनि जेनजी आन्दोलनको आड लिने प्रयास गरिएको छ । स्थानीयहरूका अनुसार हिमालय रोडमा रहेको विनोद पोदारको घरअगाडिको संरचना भत्काउने प्रयास गरिएको थियो । संरचना भत्काउने प्रयास गर्दागर्दै विरोध भएपछि त्यही ठाउँमा हुर्किएको रुख चाँहि काटिएको छ ।
उनीहरूको दाबी छ कि आन्दोलनको मौका छोपेर व्यक्तिगत स्वार्थ पूरा गर्न पोदारले नै यो कार्य गराएका हुन्। तर घरधनी विनोद पोदारले भने उक्त आरोपको खण्डन गरेका छन्। उनले भने मैले कसैलाई संरचना भत्काउन वा रुख काट्न लगाएको छैन। आन्दोलनको समयमा म आफ्नो घरको सुरक्षाका लागि मात्र उपस्थित थिएँ। यसअघि पनि हिमालय रोडमा रहेका व्यापारीहरूले उक्त संरचना हटाउन माग गर्दै आन्दोलन गरेका थिए । जसले गर्दा यस क्षेत्रको संरचना विषयमा पहिले देखिनै विवाद चलिरहेको थियो । तर, अन्य व्यवसायी तथा घरधनीले आन्दोलनलाई आड बनाएर भत्काउन उकास्ने काम भने गरेनन् ।