प्रेम देवान
विराटनगर । जेनजी आन्दोलनमा सबैभन्दा प्रन्ट लाईनमा बसेर नेपाल प्रहरीले सुरक्षा दिएको थियो । तर, तीनै सुरक्षा दिने ३ जना प्रहरीले ज्यान गुमाउनु पर्यो भने सयौँको सख्यामा घाईते हुन पुगे । भष्ट्रचार मुक्त सुशासन र सामाजिक संजालमा लगाइएको प्रतिबन्धको विरुद्ध भदौ २३ र २४ गते मुलुकभर नै जेनजी समुहले प्रर्दशन गरे । प्रर्दशनका क्रममा ७४ जना नागरिकले मुलुकभर ज्यान गुमाउन पुगेभने सयौंको सख्यामा घाईते भए ।
त्यति कै मात्रामा सरकारी तथा निजी सम्पत्तीमा ठुलो क्षति पुगेको छ । आन्दोलनमा नेपाल प्रहरीका तीनजनाले पनि ज्यान गुमाउन पुगेभने भौतिक संरचनामा पनि उति कै मात्रामा क्षति पुगेको छ ।
यता मोरङ जिल्लामा पनि प्रहरीले धेरै क्षति भोगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १८ वटा प्रहरी कार्यालय तथा प्रहरी विटहरुमा क्षति पुगेको छ । यसैगरी ४ चक्के ७ र २ चक्के ११ वटा मोटरसाईकलमा पुर्ण रुपमा क्षति पुगेको छ । आन्दोलनका क्रममा नेपाल प्रहरीका २० जना प्रहरी घाईते भएका छन् । अहिले ती भौतिक रुपमा क्षति तथा भत्किएका संरचनाहरु बनाउने काममा प्रहरी फर्किसकेको मोरङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार जेन जीको आन्दोलनपछि ड्यूटीमा फर्केर प्रहरीले जिल्लाभर कडाइका साथ सुरक्षा व्यवस्था अपनाएको छ । आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र मानवीय क्षतिका घटनालाई मध्यनजर गर्दै प्रहरी प्रशासनले थप सतर्कता बढाएको एसपी चिमरियाले जानकारी दिए । उनका अनुसार आन्दोलनपछि थप घटनाहरु नहोस भन्ने उदेस्यले सम्भावित ठाँउहरुमा निरन्तर अनुगमन भइरहेको छ । “अशान्ति र अराजकता फेरि नदोहोरियोस भनेर हामीले सुरक्षात्मक कदम कडाइका साथ अघि बढाएका छौँ,” एसपी चिमरियाले भने, “संवेदनशील स्थानमा प्रहरीको गस्ती, चेकजाँच र निगरानीलाई अझै प्रभावकारी बनाइएको छ ।”
प्रहरीका अनुसार विराटनगरसहित मोरङका विभिन्न नाकामा विशेष चेकिङ गरिँदैछ भने भीडभाड हुने स्थानमा सादा पोशाकका प्रहरी परिचालन गरिएको छ । एसपी चिमरियाले आन्दोलनका क्रममा तोडफोडमा संलग्न व्यक्तिमाथि अनुसन्धान जारी रहेको र केहीलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए । उनले भने, “कानून विपरीत गतिविधिमा संलग्न कोही पनि उम्कन पाउने छैनन, कानुनी प्रक्रिया अनुसार कारबाही हुन्छ ।” जिल्लामा शान्ति–सुरक्षा कायम गर्न प्रहरी समुदाय–पोलिसिङलाई पनि सक्रिय बनाइने उनले बताए । प्रहरी प्रमुख चिमरियाले नागरिकलाई सुरक्षाबारे नआत्तिन र शान्तिपूर्ण तरिकाले आफ्नो दिनचर्या सञ्चालन गर्न आग्रह समेत गरेका छन् । यता स्थानिय नागरिकले पनि रातको समयमा ठाँउ ठाँउमा आ आफ्नो टोलहरुमा सुरक्षा दिदै आएका छन् ।