विराटनगर । गत असोज ३ गते दिउँसो विराटनगर १२ कामत टोलका राकेश यादवको घरमा दिउँसै चोरीभयो । आफन्त मरिमराउ भएको स्थानमा बिहान परिवारै गएपछि घरको पछाडीबाट चोर भित्र पसेर दरारमा रहेका गहना तथा नगद चोरी भएको थियो ।
यादवको घरको एउटा कोठाबाट झण्डै ८ तोला सुनको विभिन्न गरगहना, आधा किलो चाँदीको गहना र नगद २५ हजार र अर्को कोठाबाट आठ आना सुनको झुम्का १ जोडी, १ जोडी चाँदीको पाउजु र नगद पच्चिस हजार चोरी भएको उनको दावी छ । चोरी भएका नगद तथा गरगहनाको मूल्य १५ लाख बढी रहेको अनुमान गरिएको छ ।
बखरी प्रहरीचौकी भन्दा केहि मिटर दक्षिणतर्फ कामत चोकमा रहेको यादवको घरमा चोरहरुले घरको पछाडिको ढोका फोडी भित्र प्रवेश गरेको थिए । हथौडी र पेचकश लगायतका औजार प्रयोग गरेर भित्र प्रवेश गरी दराज खोलिएको अनुमान गरिएको छ । बिहान आफन्तको घर गएका उनीहरु साँझ फर्कदा मात्रै घटना थाहा पाएको बताएका छन् । प्रहरी चौकी बखरीले घटनापछि खोजतलास गरिरहेको जानकारी दिएको छ । बिहान ८ बजे गएका घरपरिवारका सदस्य राती १० बजे फर्कदा चोरी भएको भनेर प्रहरीमा खबर गरेका थिए ।
पछिल्लो समय चोरीका घटनाको यो एउटा प्रतिनिधि घटना मात्रै हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता कोपिला चुँडालका अनुसार पछिल्लो समय त सामाजिक घटना नियन्त्रण गर्न नसक्ने तहमा बढेका छन् । प्रहरीलाई समेत यो राजनीतिक घटना हो की अपराधिक घटना भनेर छुट्याउन समेत असहज भइरहेको छ । प्रवक्ता चुँडालले घटना भएपछि त्यसको कानुनी प्रक्रिया थाल्न समेत प्रहरीलाई असजिलो भइरहेको सुनाइन् । उनले भनिन्–दौडिएर पुगिहालौं भन्दा गाडी छैन, संरचनाहरुको अवस्था पनि उतिकै बिजोक छ ।
प्रवक्ता चुँडालले कतिपय आपराधिक घटनामा समेत प्रहरीलाई खबर नगरी सामसुम पार्ने काम भइरहेको खबरहरु आइरहेको बताइन् । उनले कानुन विपरित हुने गरी गरिएका कुनैपनि घटना पुनः बल्झने भएकोले आम नागरिकले यसमा सचेत रहनुपर्ने बताइन् । उनले विराटनगर १२ मा घर चोरी भएको घटनाको जाहेरी जिल्ला प्रहरी कार्यालयसम्म नआएको बताउँदै घटनास्थल वस्तुस्थिति मुचुल्का लगायतका काम समेत नभएको बताइन् । चालु आर्थिक बर्षको साउन र भदौको दुई महिनामा मोरङ जिल्लामा चोरीका ६० वटा घटनाहरुको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय मोरङमा दर्ता भएका छन् । ७८ जना अभियुक्त समेत पक्राउ परेका छन् ।