विराटनगर । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते मोरङमा उपद्रो मच्चाउने एकसय बढीको प्रोफाइल प्रहरीले तयार पारेको छ । जेनजी पुस्ताको आडमा घुसपैठ गरेर सार्वजानिक सम्पतिमा आगजानी गर्ने व्यक्तिहरुको डिजिटल फायल प्रहरीले तयार पारेको हो ।
मोरङ प्रहरीले घटनामा संलग्न भएर आफैं बहादुरी प्रदर्शन गर्दै भिडियो हाल्ने व्यक्ति, सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा नगरवासीमार्फत समेत प्रमाण संकलन गरेर कारवाहीका लागि फायल खडा गरेको हो । उपद्रो मच्चाउनेहरुको विवरणसहित उनीहरुको पृष्ठभूमि समेत अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।
मोरङमा सार्वजानिक सम्पतिमा क्षति पु¥याउनेहरुको फायल खडा गरेर प्रहरीले त्यसलाई डिजिटल कपी समेत बनाएको हो । तर, जेनजी आन्दोलनमा संलग्न जेनजी उमेर समूहका भन्दा बाहेकका हकमा अपराधिक कृयाकलापलाई आधार बनाएर प्रहरीले कारवाही गर्नेछ । यद्यपी आन्दोलनका क्रममा सार्वजानिक सम्पतिमा क्षति पु¥याउनेहरुलाई के र कसरी कारवाही गर्ने भन्ने अहिलेसम्म यकिन भइसकेको छैन ।
प्रहरीले भिडियो, फोटो र उपद्रो मच्चाउन सल्लाह गरेको अडियो तथा उपद्रो मच्चाएपछि अरुलाई फोन गरेर जिम्मेवारीपूर्वक हौसाउँदै गरेको कुराकानी समेत बरामद गरेको छ । प्रहरीका अनुसार उपद्रो मच्चाउनेमा जेनजी उमेर समूह भन्दा माथिका राजनीतिक तथा अपराधिक समूहका व्यक्ति संलग्न रहेको देखिएको छ । प्रहरीले दाउ पारेर ध्वंसमा उत्रिनेलाई बारम्बार निगरानी समेत गरिरहेको छ । उपद्रोमा संलग्नहरुको यस पछाडी कुनै अपराधको रेकर्ड बनेमा समेत उनीहरुलाई भदौ २४ गतेको घटना जोड्ने तयारी समेत गरेको छ ।