अर्जुन आचार्य
विराटनगर, २८ चैत । ‘सिप सिकेको छु, अब गाउँ फर्केर पनि परिवार राम्ररी पाल्न सक्नु, यही सिकेको सिपलाई प्रयोग गर्छु’ तेह्रथुमको कारागारमा कैद भुक्तान गरिरहेका ४९ वर्षीय भीम नेपालीले भने ।
जेल पर्नुअघि उनमा खेति किसानी बाहेक अन्य सिप विकास थिएन । तर, जब जेलमा परे तब उनले ढाका टोपि बन्न, कपडा सिलाउन र चोयाको डोका, थुन्से बुन्ने सिप सिके । अहिले उनलाई गाउँ फर्केर पनि यही काम गरेर मनग्ये परिवार पाल्न सक्नु जस्तो लागेको छ । ‘के गर्नु, दुःखीया कर्म नसोचेको भयो, जेल परियो, तर जस्तो पर्छ त्यस्तै भोगिरहेको छु, अब गाउँ गएर परिवार पाल्न पनि सक्छु,’ उनले भने, ‘ढाका टोपिको तान बुन्न त अरुलाई तालिम पनि दिन सक्छु ।’
तेह्रथुम कारागारमा रहेका ८५ जना कैदीहरु अधिकांशले कुनै न कुनै सिप सिकेर बसिरहेका छन् । ‘भर्खरै जेल परेकाहरु फुर्सदिला भएपनि पुराना सबैले सिप सिकेका छन्,’ कारागारका चौकिदार टार्जन राईले भने, ‘सिप सिकेर उत्पादन गरेका वस्तु यहीबाट खपत हुन्छ, आम्दानीको स्रोत बनेको छ, परिवारलाई सहयोग भइरहेको छ ।’
तेह्रथुम आङदीमका निरबहादुर लिम्बूले बन्दी जीवन विताउन अब ७ वर्ष बाँकी छ । तर, उनी बिहानै देखि बेलुका साँझ नपर्दासम्म ढाका टोपिको तान बुन्नमै ध्यान हुन्छ । ‘दिनैभर तान बुन्दा बेलुका सम्ममा एउटा निर्माण सकिन्छ,’ लिम्बूले भने, ‘काम गरिरहँदा दिन गएको पनि थाहा हुँदैन, आम्दानी पनि हुन्छ, अलिअलि घरखर्च पनि पठाउने गरेको छु ।’ जेलमा बस्दा बस्दै हेरेरै सिकेको उनले बताए ।
साँघुरो ठाउँमा दुई दर्जन जति तानमा कैदी बन्दीले ढाकाको तान बुन्ने गरेका छन् । ‘ढाका बुन्दा एक अर्काको कुएना जोडिन्छ,’ कारागारका सुरक्षा प्रमुख पूर्णबहादुर राउतले भने, ‘तर पनि मिलेर काम गरेको हेर्दा रमाइलो लाग्छ ।’
अल्छि लाग्ने, अनेक थरि सोचिने र जिन्दगीप्रति नै वितृष्ण हुनेहरुका लागि काम एउटा औषधि भएको नर्स सुन्दरा गुरागाईंले बताइन् । अधिकांश समय फुर्समा बस्नेहरु मानसिक रोगि हुने कतिपय अध्ययनले देखाएको छ । जेल जीवन बिताउनु सिप नभएका र दिन कटाउने मेलो नभएकाहरुका लागि झनै कठिन हुन्छ । तर, समयको सदुपयोग गर्न सक्दा ठूलाठूला साहित्यकारको पनि जेलमै जन्म भएको छ ।
सानै भएपनि क्षमताभन्दा बढी कैदी बन्दी रहेको तेह्रथुमका कारागारमा कैदीबन्दीले गरेको मेहनत सन्तोषजनक देखिएको जिल्ला अस्पताल तेह्रथुमका इमरजेन्सी इन्चार्ज गणेश बुढाथोकीले बताउनुभयो ।