सोनु साह
विराटनगर । नेपालमा सुनको मूल्यले हालसम्मकै उच्च बिन्दु छोएपछि देशभरका सुनचाँदी व्यवसायीहरु चिन्तित बनेका छन्। बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मको सबैभन्दा उच्च दर हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो। बुधबार सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही सातादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भएसँगै यसको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।
सुनको मूल्य आकस्मिक रूपमा बढेसँगै विराटनगरका सुनचाँदी व्यवसायमा समेत ठप्प देखिएको छ। स्थानीय व्यवसायीहरूका अनुसार अहिलेको अवस्थामा बजारमा खरिद गर्ने ग्राहकहरू उल्लेख्य रूपमा घटेका छन्। पहिलाको तुलनामा हाल व्यापार एक तिहाइ मात्र रहेको र त्यसमध्ये पनि अधिकांश पुराना स्थायी ग्राहकहरू मात्रै आउने गरेको उनीहरूले बताएका छन्।
विराटनगरका व्यवसायी राज साह र कमलेश अग्रवालका अनुसार, “सुनको मूल्य यति उच्च बिन्दुमा पुगेको छ कि सामान्य ग्राहकका लागि अब सुन खरिद गर्नु कठिन भएको छ। तिहारजस्तो ठूलो पर्व आउँदाहुँदै पनि बजारमा ग्राहकहरू घटिरहेका छन्। यो स्थिति यस्तै रहिरह्यो भने हामीलाई व्यवसाय सञ्चालनमै समस्या पर्न सक्छ।”
उनी थप्छन्, “सुनको मूल्य दैनिकजसो बढिरहेको छ। यसले ग्राहकहरूको मनोविज्ञानमा पनि असर गरेको छ। अहिले धेरैजसो मानिसहरूले ‘मूल्य घटेपछि किन्ने’ सोचका साथ प्रतीक्षा गरिरहेका छन्।”
नेपाल सुनचाँदी व्यवसायी महासंघले समेत यो मूल्यलाई हालसम्मकै उच्च दरको रूपमा व्याख्या गर्दै सुनको मूल्य वृद्धि अस्वाभाविक भएको बताएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती, मध्यपूर्वमा बढ्दो अस्थिरता, र विश्वव्यापी आर्थिक अनिश्चितताले सुनलाई सुरक्षित लगानीको विकल्पका रूपमा देखाइरहेको छ, जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो।
सुनको मूल्य वृद्धि सँगसँगै चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। मंगलबार प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३ हजार २५ रुपैयाँ पुगेको छ। यो पनि नेपाली बजारको हालसम्मकै उच्च दर हो। व्यवसायी सुम्रिता मगरका अनुसार, चाँदीको मूल्यमा समेत निरन्तर वृद्धिले साना स्तरका ग्राहकहरूलाई असर पारिरहेको छ। विगतमा चाँदीका गहना वा साना वस्तु किन्ने ग्राहकहरूले अहिले बजार भ्रमण गर्नै छोडेका छन्।
विराटनगरका अर्को व्यवसायी दिनेश कुमार साहका अनुसार, “सुनचाँदी दुवैको मूल्य बढ्दा आम ग्राहक प्रभावित भएका छन्। अहिले बजारमा सामान्य माग मात्रै देखिन्छ। तिहारको समयमा यस्तो स्थिति पहिलोपटक देखिएको हो।” विश्लेषकहरूका अनुसार, निकट भविष्यमा सुनको मूल्य अझै बढ्ने वा घट्ने भन्ने निश्चित छैन। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी फेडरल रिजर्भको ब्याजदर नीति, विश्व अर्थतन्त्रको अनिश्चितता, र भू९राजनीतिक तनावले आगामी दिनमा सुनको मूल्यमा उतारचढाव ल्याउन सक्छ।
नेपालको सन्दर्भमा, महँगो सुनले विवाह, चाँदीका गहना तथा पूजाआजा प्रयोजनका वस्तुहरूमा पनि असर पार्ने देखिन्छ। तिहार, बिवाहको सिजन र मङ्सिर महिना नजिकिँदै गर्दा सुन बजारमा माग घट्नुले समग्र आर्थिक गतिविधिमा पनि असर पार्न सक्ने अनुमान गरिएको छ। हालको अवस्थालाई मध्यनजर गर्दै व्यवसायीहरूले सरकार र सम्बन्धित निकायलाई सुन बजार स्थिर राख्न आवश्यक पहल गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार, सुन आयातमा स्थिरता र कर नीतिमा पारदर्शिता ल्याइए बजारमा केही स्थायित्व आउन सक्छ। हालका मूल्य अनुसार, सुन प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो दर नेपालमा सुन–चाँदीको इतिहासमै पहिलो पटक देखिएको हो।