निगरानी नहुँदा विराटनगरमा मन्टेश्वरीको नाममा लुट

<span class='c1'>निगरानी नहुँदा विराटनगरमा</span> <span class='c2'>मन्टेश्वरीको नाममा लुट</span>

अर्जुन आचार्य
विराटनगरमा मन्टेश्वरीका नाममा खुलेका बाल बच्चा स्याहार केन्द्रहरूमा अनुगमन नहुँदा मनपरी शुल्क असुल्न थालिएको छ ।
नगरपालिकाबाट मन्टेश्वरी सञ्चालनका लागि सहजै अनुमति पाउने भएकाले अहिले विराटनगरका टोलैपिच्छे जसो मन्टेश्वरी सञ्चालनमा छन् । कतिपय मन्टेश्वरीले अनुमतिविना कक्षा ३ सम्मको पठनपाठनसमेत सञ्चालन गरेका छन् ।
निजी विद्यालयहरुको शुल्कको सामान्य मापदण्ड सरकारले बनाएको भएपनि मन्टेश्वरीले कुनै मापदण्ड नभएको मौकामा चर्को शुल्क लिने गरेका छन् । विराटनगर उपमहानगरपालिकाबाट करिब ५० वटा मन्टेश्वरीले अनुमति लिएका छन् । विराटनगर महानगरपालिकाका अनुसार मन्टेश्वरीलाई सञ्चालन गर्ने अनुमति दिएपनि त्यसको अनुगमन गर्ने र निगरानी गर्ने संयन्त्रको नहुँदा मन्टेश्वरीहरु मनपरी ढंगले सञ्चालन भइरहेका छन् । २५ सयदेखि ५ हजारसम्म मासिक शुल्क र २० हजार रुपैयाँसम्म भर्ना शुल्क लिएर विराटनगरमा मन्टेश्वरी सञ्चालनमा ।
अधिकांश मन्टेश्वरीले कपी, किताब, टाई र बेल्टसमेत मन्टेश्वरीबाटै बालबच्चालाई बिक्री गर्ने गर्छन् । त्यति मात्रै होइन मन्टेश्वरीले यातायातको व्यवस्था गर्नुपर्ने भन्दै मासिक ५ सयदेखि १ हजारसम्म शुल्क अभिभावकबाट लिने गरेका छन् । ‘मासिक चार्ज ४५ सय, एड्मिसन चार्ज २० हजार भन्छन्, मनपरी गरेका छन्,’ एक अभिभावकले भने, ‘आवाज उठाउने कोही नहुँदा समस्या भयो ।’
राष्ट्रिय अभिभावक संघका मोरङ अध्यक्ष सुरेश कार्कीले नियमन गर्ने निकायले यस्ता स्याहार केन्द्रहरुको अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । ‘कहाँट दर्ता अनुमति दिइयो, त्यही संस्थाले अनुगमन गर्ने गर्नुपर्छ,’ कार्कीले भन्नुभयो, ‘शिक्षा ऐन अनुसार दर्ता भएका जुनसुकै मन्टेश्वरी वा स्याहार केन्द्रहरुले ऐन उल्लंघन गरे कारबाही गर्नुपर्छ ।’ ऐन विपरीत जाने यस्ता मन्टेश्वरीलाई कारबाही नगरे आफूहरु आन्दोलनमा उत्रने कार्कीले चेतावनी दिनुभयो ।
विराटनगरमा संचालनमा आएका अधिकांश मन्टेश्वरीले जिल्ला शिक्षा कार्यालयबाट प्राथमिक तह पढाउने अनुमति लिएका छैनन् । जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले मन्टेश्वरीलाई आफ्नो कार्यालयले अनुमति नदिने भएकाले अनुगमन गर्न नसकिएको बताउनु भयो । तर, मन्टेश्वरीमा अनुमति नलिइकन प्राथमिक तहको पढाइ हुँदै गरेको पाइएमा त्यस्तालाई कारबाही गरिने खनालले चेतावनी दिनुभयो ।
विराटनगर उपमहानगरपालिकाका महिला तथा बालालिका शाखा प्रमुख डिल्ली धिमालले नगरपालिकाले अहिले मन्टेश्वरीहरू अनुगमन गर्न नसकिरहेको स्वीकार गर्नुभयो । उहाँले पहिलो मन्टेश्वरी दर्ता गर्दा सामान्य निवेदनका आधारमा दिने गरिएपनि अहिले भने भौतिक पूर्वाधारदेखि अरु विषयहरुसमेत हेरेर मात्र अनुमति दिने गरेको जानकारी दिनुभयो ।
मन्टेश्वरीको उद्देश्य र मापदण्ड विपरित थुप्रै बालबालिका स्याहार केन्द्र खुलेको मन्टेश्वरी शिक्षक टोम गौतमले बताउनु भयो । ‘मापदण्ड अनुसार भौतिक संरचना निर्माण नभइ अहिले यसखालका स्कूल चलिरहेका छन्,’ गौतमले भन्नुभयो, ‘नियमन गर्ने निकायले यसको अनुगमन र नियन्त्रण गर्नु आवश्यक छ ।’ अनुगमन नहुने हो भने मन्टेश्वरीको नाममा विकृति बढ्ने गौतमको चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्