पूर्वमा ६२ प्रतिशत गर्भपतन अवैध

<span class='c1'>पूर्वमा ६२ प्रतिशत</span> <span class='c2'>गर्भपतन अवैध</span>

अर्जुन आचार्य
विराटनगर, २९ चैत । अवैध गर्भपतन बढ्दै गएको भन्दै मोरङका स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् । विराटनगरमा मंगलबार आयोजित वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्रको तथ्यांक सार्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
सरकारले सूचीकृत गरेकादेखि बाहेकका औषधि पसल तथा मेडिकलाई गर्भपतनसम्बन्धी औषधि विक्री वितरण गर्न रोक लगाउनु पर्नेमा पनि स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । बालसमाज नेपाल मोरङका अध्यक्ष सीता पौडेलले जथाभावि औषधि पाइने भएका कारण चेतना नभएका ९-१० कक्षा पढ्न किशोरीहरुले औषधि सेवन गरेरै अवैध गर्भपतन गराउने गरेको बताउनु भयो । सुरक्षित गर्भपतनको विषयमा गाउँ गाउँसम्म सचेतना अभियान नचलाएसम्म यस्तो प्रक्रिया नरोकिने उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै मेरिस्टोप्स सेन्टर विराटनगरकी स्वास्थ्यकर्मी तारा ढकालले स्कूल तथा कलेजमा स्वयंसेवीकाको रुपमा गएर विद्यार्थीलाई सचेतनामूलक कार्यक्रम गर्न खोज्दा पनि नदिने गरेको गुनासो गर्नुभयो । ‘स्कूल र कलेजले यौन तथा सुरक्षित गर्भपतनसम्बन्धी कार्यक्रम लिएर जाँदा विद्यार्थी बिगार्न आए भने जस्तो गर्छन्,’ ढकालले भन्नुभयो, ‘चेतना दिने ठाउँ स्कूल कलेजका शिक्षकलाई नै तालिम दिनुपर्ने अवस्था देखिएको छ ।’
कार्यक्रममा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.संगीता मिश्रले मेडिकलले डाक्टरको सिफारिसबिना औषधि विक्री वितरण गर्दा पनि गर्भ रहेका किशोरीहरु अवैध गर्भपतनको सिकार हुने गरेको बताउनु भयो । ‘म कहाँ पहिले औषधि खाने र पछि उपचारका लागि आउने किशोरीको संख्या धेरै छ,’ मिश्राले भन्नुभयो, ‘सचेतनाको अभावका कारण जथाभावी औषधि प्रयोगले हुने गर्भपतनले अझै ठूलो समस्या ल्याउन सक्नेप्रति सचेत गराउनु आवश्यक छ ।’
जो कोही औषधि किन्न जाँदा पसलेले कति महिनाको गर्भ हो, कस्तो समस्या हो भनेर नसोधि औषधि दिने गरेको भन्दै चिकित्सकहरुले त्यस्तो प्रवृत्ती रोक्नुपर्नेमा जोड दिएका छन् । खुल्ला समाजमा अवैध गर्भपतन रोक्न र सुरक्षित गर्भपतनको विषयमा सचेतना अभियान चलाउनुपर्ने उनीहरुको भनाइ थियो ।

पूर्वमा ६२ प्रतिशत अवैध गर्भपतन
पूर्वमा अवैध गर्भपतन गराउनेको संख्या उल्लेख्य पाइएको छ । वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्रको तथ्यांक अनुसार पूर्वाञ्चलमा अवैध गर्भपतन गराउनेको संख्या ६२ प्रतिशत अर्थात ४१ हजार ७ सय २० रहेको देखिएको छ । यो तथ्यांक सन् २०१४ को हो । पूर्वमा गर्भपतन गराउनेको संख्या भने ६७ हजार २ सय ९१ रहेको छ । तथ्यांक प्रस्तुत गर्दै अनुसन्धान केन्द्रका प्रस्तोता आनन्द तामाङले देशभरमा सन् २०१४ मा मात्रै अवैध गर्भपतन गराउनेको संख्या ५८ प्रतिशत अर्थात १ लाख ८६ हजार १ सय रहेको बताउनुभयो । तथ्यांक अनुसार १ सय गर्भवती महिला मध्ये ५६ जनाले गर्भपतन गराउने गरेका छन् भने ५६ मध्ये ५८ प्रतिशत अर्थात् ३२ जनाले अवैध गर्भपतन गराउँछन् ।
देशभरमा गर्भपतन गराउनेको संख्या भने ३ लाख २३ हजार १ सय रहेको छ । तत्थांकप्रति टिप्पणी गर्दै परिवार नियोजन संघ विराटनगरका प्रबन्धक शंकर दाहालले तथ्यांकमा १६ वर्ष मुनिका गर्भपतन गराउने युवतीको संख्या भने नआएको बताउनु भयो । उहाँले कानूनले १६ वर्ष माथिकालाई मात्रै गर्भपतन गराउने अधिकार प्रदान गरेको भएपनि त्यसभन्दा मुनि उमेरका युवतीको हकमा के हुने भन्ने प्रश्न गर्नुभयो ।
कार्यक्रममा मोरङ र सुनसरीका स्वास्थ्यसँग सम्बन्धीत संघ संस्था र सरकारी निकायका प्रतिनिधिको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्