आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइदैँ

<span class='c1'>आज हरिबोधिनी एकादशी, तुलसी र</span> <span class='c2'>दामोदरको विवाह गरी मनाइदैँ</span>

विराटनगर । आज हरिबोधिनी एकादशी, यसलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरञी मनाइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ ।


जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुतेका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।
आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ, वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको विरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । वैदिक सनातनमा तुलसीको महत्त्व प्रत्येक विशेष उत्सव वा कुनै धार्मिक कार्यमा पनि रहँदै आएको छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।


आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।
आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्