सोनु साह
विराटनगर। कार्तिकको मध्यमा आएको वर्षाले मोरङका किसानका खेतको धान मात्र होइन, उनीहरूको वर्षभरिको पसिना पनि बगाएको छ। खेतमा हरियो सुनौलो रंगमा झलमलाउँदै गरेका धानका बालाहरु अहिले पानीमा ढलिरहेका छन्, बाला अंगालेर बसेका गाँजका नल किसानको मन रुवाउने गरी ढल्केका छन् । धानका नल भुँईमा लत्रेको देख्दा लाग्छ, यो किसान नै टाउको निहुँरियाएर रोइरहेका हुन् ।

विराटनगर १४ जतुवाका किसान प्रमेश्वर मल्लाह बिहानै खेततिर निस्किए। हातमा छाता, आँखामा पीडा, खेतमा पुगेपछि उनले देखे–नलहरु भुइँमा च्यापिएर पानीमा डुबेका छन् । केही दिनअघि मात्रै काट्ने तयारीमा रहेको धान अब उठ्ने र बालाका दाना भरिलो बनाउने आसा छैन । “ऋण लिएर खेती गरेको थिएँ,” उनले भने, “धान राम्रो फलेको थियो, खर्च उठ्ने थियो। अब सबै ढल्यो, बर्बाद भयो।”
यस्तै पीडा सत्यनारायण यादवको पनि छ। उनले खेतको पाटीमा बसेर हेरिरहेका थिए, जसरी बालबालिकाले खेलाउँथे, त्यही खेत अहिले पानीको भेलले ढाकेको छ। “रातदिन मिहिनेत गरेर धान फलाएका थियौं,” उनले भने, “तर तीन दिनको वर्षाले सबै सपना बगायो। अब घर कसरी चलाउने, ऋण कसरी तिर्ने ।”

बेमौसमी वर्षाको असर केवल उनीहरूमा सीमित छैन। कृषि ज्ञान केन्द्र, मोरङका सूचना अधिकारी आदर्श कुमार सिंहका अनुसार यसवर्ष जिल्लामा ६९ हजार ८७० हेक्टर क्षेत्रफलमा खेतीयोग्य जमिनमध्ये ६८ हजार ४३० हेक्टरमा धान रोपाई गरिएको थियो। तर कार्तिक १३ देखि १५ गतेसम्मको लगातार वर्षाका कारण करिब १२ प्रतिशत खेतमा धान पूर्ण रूपमा नष्ट र १० प्रतिशतमा आंशिक क्षति पुगेको छ। “गत वर्षको तुलनामा यो वर्ष करिब १० प्रतिशत उत्पादन घट्ने सम्भावना छ,” सिंहले बताए।

यसबेला गाउँभर एकै कुरा चलिरहेको छ— “खेतमा धान छैन, भकारी कसरी भरिने” धान ढलेपछि किसानहरूका अनुहारमा निराशा, चिन्ता र असहायता स्पष्ट देखिन्छ। बेमौसमी वर्षाले उनीहरूको वर्षभरको पसिना मात्र होइन, घरको आश पनि बगाएको छ। रात परेपछि गाउँमा बिजुलीको उज्यालोमा पनि खेततिर हेर्ने बानी बनेको छ—सपना डुबेको दृश्य सम्झन। किसान शंकर प्रसाद कामत भन्छन्, “अब हामीलाई राहत होइन, आगामी वर्षको लागि सहुलियत चाहियो, ताकि फेरि उठ्न सकौं।” बेमौसमी वर्षाले मोरङ मात्र होइन, कोशी प्रदेशका अन्य जिल्लाका किसान पनि प्रभावित भएका छन्। खेतीपातीमै भर पर्ने किसान अहिले ठुलो आर्थिक संकट र मानसिक तनावमा परेका छन्।
