विराटनगर । सरकारले तोकेको न्यूनतम पारिश्रमिकको माग गर्दै विराटनगरमा रहेको नोबेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरू पुनः आन्दोलनमा उत्रिएका छन् । ‘धम्की र श्रम शोषण बन्द गर’ जस्ता नारा लगाउँदै उनीहरूले आज बिहानैदेखि अस्पताल परिसरमा प्रदर्शन सुरु गरेका हुन् । यसअघि पनि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले आफ्ना माग पूरा गर्न अस्पताल प्रशासनलाई कार्तिक १८ गतेसम्मको समयसीमा दिएका थिए । तर, अस्पताल व्यवस्थापनले मागहरूलाई पूर्ण रूपमा बेवास्ता गरेपछि आफूहरू फेरि आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलनको नेतृत्व गरिरहेकी स्वास्थ्यकर्मी स्वाती देवले बताइन् ।


‘हाम्रा मागहरूप्रति अस्पताल प्रशासनले कुनै सुनुवाइ गरेन, त्यसैले हामी फेरि आन्दोलनमा होमिएका छौँ,’ देवले भनिन, ‘अहिले आकस्मिक र आइसियूबाहेकका सबै सेवामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा छौँ । माग पूरा नभएसम्म यो आन्दोलन रोकिने छैन ।’ स्वास्थ्यकर्मीहरूले सरकारले तोकेको यही न्यूनतम तलब पाउनुपर्ने मुख्य माग राखेका छन् । यता अस्पताल प्रशासनले भने उनीहरुलाई वार्ताको लागि आह्वान गरेको भएता पनि उनीहरु बार्ता नआएको अस्पताल प्रशासनले जनाएको छ ।