विराटनगर । भारतको बिहारमा हुने विधानसभा निर्वाचनको चुनावी सभाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अररिया आउने भएपछि मोरङ र सुनसरी जिल्लाको सीमा क्षेत्रमा कडाई गरिएको छ । भारतीय पक्षले अहिले सीमा क्षेत्रमा सतर्कता अपनाउँदै आउजाउमा कडाई गरेको हो ।
अररियासँग सीमा जोडिएको मोरङ र सुनसरीमा भारतीय र नेपाली सुरक्षाकर्मीले सतर्कता बढाएका हुन् । बिहीबार दिउँसो मोदीले अररियामा आयोजित सभालाई सम्बोधन गर्नेछन् ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा अन्तर्गत रानीका प्रहरी नायव उपरीक्षक विकास खतिवडाले भारतले आफ्नो सुरक्षालाई ख्याल गर्दै कडाइ गरेको बताएका छन् । उनका अनुसार यस अगाडीदेखि नै केहि कडाई गरिएकोमा आगामी ११ तारेखको निर्वाचन लक्षित हुने चुनावी सभामा भारतीय प्रधानमन्त्री आउने भएपछि झन् कडाई गरिएको हो । बिहारको निर्वाचन लक्षित गर्दै दुईदिनपछि नोभेम्बर ८ तारेखदेखि सीमा सील हुनेछ ।
भारतीय पक्षको अनुरोधमा मोरङ र सुनसरीको सीमा क्षेत्रमा प्रहरीले निगरानी र चेकजाँच बढाएको छ । बिहारका १८ जिल्लामा बिहीबार नै मतदान हुँदैछ । मोरङ, सुनसरीसहितको सीमा जोडिएका जिल्लाहरुमा नोभेम्बर ११ तारिखमा चुनाव हुनेछ ।