विराटनगर । भन्सार राजस्व छली आशंकामा पक्राउ परेका विराटनगर–१७ का कुन्दन मण्डलको घरमा बिहीबार राजस्व अनुसन्धानले छापा हानेको छ । मंगलबार विराटनगर भन्सार कार्यालय परिसरमा एउटा ट्याक्टर पक्राउ परेपछि मण्डललाई नियन्त्रणमा लिइएको थियो । उनी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका बेला बुधबार विराटनगर–६ स्थित बुद्धपूजा ढुवानी सेवाबाट उनको ३४ पोका कपडा नियन्त्रणमा लिइएको थियो ।
भन्सारको बाटो भएर प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बाहिरको मालवस्तु भित्र्याउने गरेको आशंकासहितको आरोप उनीमाथि रहेको छ । सशस्त्र प्रहरीले पाएको सूचना अनुसार मण्डललाई भन्सार परिसरबाट पक्राउ गरेपछि राजस्व अनुसन्ँधानले दैनिक जसो उनीसँग सम्वद्ध कारोबार भएका स्थानमा छापा हान्दै आएको छ ।
बिहीबार घरमा छापा हानेर कागजातसहित केहि थप प्रमाणहरु संकलन गर्न टोलि आएको थियो । तर, राजस्व अनुसन्धानले छापा हान्दा उनले भन्सारबाट गर्ने कुनैपनि कारोबारको कुनै प्रमाण बरामद हुन नसकेपछि फर्केको हो । मण्डलले भन्सारको प्रज्ञानपत्र नै नक्कली बनाउने गरेको आशंकामा राजस्व अनुसन्धान केन्द्रीत भएर प्रमाणहरु जुटाउन लागेको बुझिएको छ ।
विराटनगर–६ स्थित बुद्धपूजा ढुवानी सेवामार्फत पठाउन लागेको ३४ पोका कपडा नियन्त्रणमा लिएको भोलिपल्टमा घरमा छापा हानिएको छ । उनी भन्सार क्लियरिङ्ग एजेन्ट सौगात पोखरेलको फममार्फत मालवस्तु मगाएर कारोबार गर्दै आएका थिए । जसमा एजेन्टको पनि संलग्नता आशंका गरिएको छ । यसैगरी यो घटनामा भन्सार जाँचपासमा खटिने भन्सारका कर्मचारी समेत सहयोगी बनेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।