विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिका भित्र पर्ने ६ किलोमिटर सडक विस्तारले गति नलिएपछि स्थानीयले बिहीबार ढाट लगाएर सडक अवरोध गरेका छन् । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरी र निर्माण सम्झौता गरेको कम्पनीबीच मिलेमतो रहेको आशंका गर्दै स्थानीयले बिहीबारदेखि सडक अवरोध गरेका हुन् । योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले निर्माण सेवा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रा.लि.लाई अन्तिम सात दिनको म्याद दिएर स्पष्टीकरण सोधिएपछि निर्माण सामाग्री झारेको बताउनु भएको थियो । सडक निर्माणमा दवाव दिन भन्दै विभागिय मन्त्रीसम्म स्थानीय सर्वदलिय राजनीतिक संयन्त्रको टोलि जाने तयारी गरिरहेका बेला योजना कार्यालयले विश्वस्त बनाएपनि निर्माण कम्पनीले कुनैपनि काम थाल्ने संकेत नदेखिएपछि स्थानीय आन्दोलित बनेका हुन् ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बारम्बार आयोजना कार्यालयका प्रमुखले निर्माण कम्पनीलाई जोगाउनेशैलीको जवाफ दिएर झुक्यानमा पार्न खोजेको आरोप लगाउनु भएको छ । ठेकेदार कम्पनीले काम नगर्ने हो भने तत्काल कारवाही गरेर नयाँ प्रक्रिया थाल्नुपर्ने माग अध्यक्ष चौधरीको छ । ‘यहि माग लिएर सर्वदलिय संयन्त्र विभागिय मन्त्रीसम्म जाने तयारीमा छौं’ अध्यक्ष चौधरीले भन्नुभयो–जिल्ला प्रशासन कार्यालयलाई समेत यो कुराको जानकारी दिएका थियौं, तर योजना कार्यालयले भने बिद्युतका पोल र निर्माण सामाग्री झारेको भनेर जवाफ दिनुभयो ।


त्यसपछि आफ्नै गाउँपालिका भित्र खोज्दा कतै नभेटिएको अध्यक्ष चौधरीको भनाई छ । सडक निर्माण तथा विस्तारमा बिद्युतका पोल सार्नुपर्ने ठेक्का समेत प्याकेजमा रहेको थियो । तर, बिद्युतका अहिले भइरहेका पोल सार्ने नभएर नयाँ पोल लगाउनुपर्ने भएपछि ठेक्का व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो । तर, बारम्बार ठेकेदारलाई जोगाउन खोजेको देखिएपछि स्थानीयले सडकमै ढाट लगाएर बिहीबारदेखि प्रदर्शन सुरु गरेका हुन् ।


उनीहरुले ठेकेदारलाई कारवाही गरेर द्रुतप्रक्रियामार्फत सडक निर्माणको नयाँ काम थाल्नुपर्ने माग गरेका छन् । हुलाकी राजमार्ग अन्तर्गत मोरङको ४४ किलोमिटर दुरी पर्दछ । जसमध्ये २०७६ सालमा दुई वर्ष भित्र काम सक्ने भन्दै ठेक्का लिएको श्रेष्ठ कन्ट्रक्सनले ६ किलोमिटरको काम अल्झाउँदै आएको छ । यो क्षेत्र कटहरी गाउँपालिकाको हाटखोलास्थित सिंघीया खोलादेखि रामचौकसम्मको भागमा पर्दछ । वर्षात्मा हिलो भएपनि धुलो नहुँदा सर्वसाधारणले त्यति याद गरेनन् । तर, हिउँद लागेपछि भने सडकको धुलोले सवारी यात्रा पार लगाउन मुस्किल पर्ने स्थानीयको भनाई छ ।
हुलाकी सडक खण्डको यो प्याकेजसँगै विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने सिंघीया खोलाको पुल पनि जीर्ण बनेको छ । योजना कार्यालयका प्रमुख पोखरेलले पुलको अहिले डिजाइन प्रक्रियाको काम भइरहेको जानकारी दिनुभयो ।