विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट आदा दर्जनबढी जना ‘बाल बिझ्याइँकर्ता’ फरार भएका छन् । बिहीबार दिउँसो करिब ४ बजेतिरको घटनामा उनीहरूले ड्युटीमा रहेका प्रहरीमाथि नै हातपात गर्दै भागेका हुन् ।
सुधार गृहमा राखिएकामध्ये ९ जना बिझ्याइँकर्ताको समूह कर्मचारीहरू घर जाने समय पारेर गेट खुल्ने मौकामा फरार भएका थिए । उनीहरूको आक्रमणबाट ड्युटीमा रहेका ३ जना सादा पोसाकका प्रहरी सामान्य घाइते भएका छन् । फरार भएकामध्ये २ जना बाल बिझ्याइँकर्ता प्रहरीको सम्पर्कमा आइसकेका छन् । अन्य ७ जनाको खोजी कार्य जारी रहेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले भागेकाहरू १८ वर्षभन्दा माथिका रहेको र उनीहरूले जबरजस्ती गरेर फरार भएको बताए । फरार भएकामध्ये दुई जनालाई नियन्त्रणमा लिइसकिएको उनले जानकारी दिए । फरार हुनेहरू १८ वर्षभन्दा माथिका छन् ।