विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ जम्टोकी विराटनगर महानगरपालिका–२ सँग सीमा जोडिएको गाउँ हो । जुन विराटनगर २ को हनुमान मन्दिर भन्दा ठिक्क पारीपर्दछ । यहाँ संघीय सरकारको १७ करोड लगानीमा २०७५ सालमा एकिकृत तरकारी तथा फलफूल बजारको लागि संरचना निर्माण गरिदियो । संघीय सरकार कृषि मन्त्रालयको व्यवसायिक कृषि तथा व्यापार आयोजना (फ्याक्ट) ले पाँच बिघा २ धुर क्षेत्रफलमा निर्माण गरेको यो संरचनामा तरकारी तथा फलफूल बजारको थोक बिक्रेतासँग सम्बन्धित कारोबार भने हुन सकेन । २०७५ साल चैत ३ गते यो संरचना संघीय सरकारका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका तत्कालिन मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका थिए ।
तर, हस्तान्तरण भएयता यो भवन जुन प्रयोजनका लागि निर्माण गरिएको थियो, त्यसमा कहिल्यै प्रयोग भएन । अझै यतिसम्मकी प्रदेशले सञ्चालन गर्न नसकेको भवन स्थानीय तह कटहरी गाउँपालिकालाई दियो । गाउँपालिकाले साप्ताहिक हाट लगाउने निर्णय गरेपनि सफल भएन । कोल्डस्टोर बनाएर ठेक्का लगाउन खोज्दा समेत लिने कोहि भएन । अझै कतिपयले चाँहि यो भवनलाई स्नुकर हव बनाउन दिनुभन्दै माग गरेका थिए, तर गाउँपालिकाले प्रयोजनविपरितको प्रयोगमा जान नसकिने भएर भाडामा लगाउन नसकेको थियो ।
तर, अब यो भवनमा कोशी प्रदेशसभा स्थान्तरण हुने भएको छ । यदि आगामी आइतबार कोशी प्रदेश सरकार मन्त्रीपरिषद् बैठकको निर्णय कुनै कारणले रोकियो वा हुनसकेन भने बाहेक लगभग यसमा प्रदेशसभा सञ्चालन गर्ने तयारी थालिएको छ । जसका लागि सरसफाई भइरहेको छ । अब आइतबार कोशी प्रदेश सरकारले यसको औपचारिक निर्णय लिएपछि आवश्यक पर्ने थप संरचना बनाइने आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।
कोशी प्रदेशसभा सञ्चालनका लागि स्थान छनौट गरेर प्रस्ताव लैजाने विभागिय मन्त्रालय समेत आन्तरिक मामिला तथा कानुन मन्त्रालय नै हो । मन्त्री भण्डारीले आइतबार यो प्रस्ताव लगेर निर्णय गरिने बताए । सरकारले निर्णय गरेसँगै यहाँ प्रदेशसभा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने संरचना तयार पारिने छ । पाँच बिघा २ धुर क्षेत्रफलमा बनेको कृषि बजार २०७५ चैत ३ गते उद्घाटन भएपश्चात अहिलेसम्म प्रयोग हुन सकेको थिएन । संघीय सरकारले यो संरचना प्रदेश सरकारलाई नै हस्तान्तरण गरिसकेको छ । जेनजी आन्दोलनका क्रममा साविक विराटनगर–७ देवकोटाचौक स्थित कोशी प्रदेशसभाका दुईवटा भवन गत भदौ २४ गते जलेर प्रयोगविहीन भएपछि विकल्पमा यसलाई प्रयोग गरिने भएको हो ।
जेनजी आन्दोलनमा प्रदेशसभा ध्वस्त भएपछि विकल्पको संरचनाको रुपमा यसलाई प्रयोग गरिने भएपछि तरकारीको खरिद बिक्री हुननसकेको भवनबाट सांसद गफिने थलो भने हुने भएको छ । तरकारी बजारकै लागि प्रशासनिक भवनसहित परिसरमा ३२ वटा थोक तरकारी तथा फलफूल पसल, ३२ वटा खुद्रा पसल, क्यान्टिन, हेल्थ क्लिनिक, व्यवस्थापक क्लष्टर, सार्वजानिक शौचालय, नापतौल मेसिन, लोड–अनलोड क्षेत्र, गोदाम घर, बैंक घर, सुरक्षाकर्मी पोष्टसहित संरचना तयारी छ । त्यो परिसरमा सीसीटिभी, जेनेरेटर र सोलार समेत जडान गरिएको छ । जुन संरचना प्रयोगमा नभएका बेला प्रदेशसभा स्थान्तरण गरेर प्रयोगमा आउने भएको हो । जसले तरकारी बजारमा सांसदको बजार लगाउने भएको छ । सरकार गठन गर्दा हुने कतिपय सांसद खरिदबिक्रीका आरोपमा समेत ठट्यौली प्रयोग गर्ने ठाउँ समेत तरकारी बजार हुने भएको छ ।