विराटनगर । कोशी प्रदेशलाई खोरेत रोगमुक्त गर्नको लागि खोरेत विरुद्धको निशुल्क खोप शुभारम्भ विराटनगरबाट सुरुवात गरिएको छ ।
कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाबाट गाईलाई पहिलो खोप लगाएर निःशुल्क खोप अभियान सुरु गरिएको हो ।
विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा सुरु गरिएको अभियानले कोशी प्रदेशलाई खोरेतमुक्त बनाउने आशा गरिएको छ ।
आईतबार विहान एक कार्यक्रमको आयोजना गरि विराटनगर–१२ दरैयामा रहेको बञ्जरा एग्रो फार्ममा रहेका गाईलाई खोरेप विरुद्धको खोप हानेर यो अभियानलाई अगाडी बढाइएको हो ।

विराटनगर महानगरपालिकाको वडा नम्बर १९ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका निर्देशक डा. सुशीलकुमार अधिकारी, कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी पशुपन्छी विकास महाशाखाकी प्रमुख डा. दीपा दिवाली, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा. अजयकुमार साह,बन्जरा एग्रोभेटका प्रमुख गजेन्द्र शमा लगायतको उपस्थिती रहेको थियो ।

कोशी प्रदेशमा आईतबारबाट एकैपटक १४ वटै जिल्लामा खोरेत मुक्त अभियान सुरुवता गरिएको छ । कोशी प्रदेश सरकारको दीर्घकालीन लक्ष्य प्रदेशका सबै जिल्लालाई क्रमिक रूपमा खोरेतमुक्त घोषणा गर्ने रहेको कार्यक्रमका प्रमुख अथिती पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका निर्देशक डा. सुशीलकुमार अधिकारीले बताउनुभयो । यस अभियानले पशुपालन व्यवसायलाई आधुनिक, सुरक्षित र दिगो बनाउन टेवा पु¥याउने प्रदेश सरकारको विश्वास छ ।
खोरेत रोग भनेको कस्तो रोग हो ?
खोरेत रोग भनेको सीमाविहीन रोग हो । खोरेत रोग गाई, भैँसी, बङ्गुर लगायत अन्य खुरफट्टा जनावरहरुमा लाग्ने गर्छ । त्यसै गरी अति छिटो पिकोर्ना जातीको विषाणुबाट सर्ने सरुवा रोग पनि हो । खोरेत रोग लागेको जनावरसंग संपर्क भएमा वा दूषित दाना, पानी र हावाको माध्यमबाट महामारीको रूपमा फैलने गर्दछ । रोगको असर लामो समयसम्म रहन सक्दछ ।

यो रोगबाट संक्रमण हुन सक्ने जनावरहरूको समूहमा रोगले असर गर्ने प्रतिशत झन्डै १०० हुन सक्दछ । जमिनमा ६० किलासम्म टाढा फैलन सक्छ भने समुन्द्री क्षेत्रमा ३ सय किलो लिटर टाढासम्म प्रति घण्टा फैलन्छ । स्थानीय वयस्क गाई , भैसीहरुमा खोरेत रोग देखा परेतापनि यो रोगको कारण मृत्यु कमै हुने गर्दछ भने बाच्छाबाच्छी, पाडा पाडी र बंगुरका पाठापाठीहरु खोरेत रोग लागि अत्यधिक संख्यामा मर्ने गर्दछन् । १० देखि १५ प्रतिशत बाछा, बाछी, पाडा पाडीको मृत्यु हुने सम्भावना हुन्छ भने ठुला पशुहरूको मृत्यु हुने सम्भावना १ देखि ५ प्रतिशतसम्म रहेको छ । यसको अर्को मुख्य असर भने दूध उत्पादन घट्छ ।