विराटनगर । विराटनगर–२ हनुमान मन्दिर धेरैलाई जानकारी नै भएको स्थान हो । विराटनगरको बन्जराचौकदेखि पूर्वतर्फ लागेपछि सिंघीया खोला छ । सिंघीया वारी विराटनगर–२ र सिंघीया पारी कटहरी–१ जम्टोकी पर्दछ ।

विराटनगरतर्फ जुन सिंघीयाको नदी उकासदेखि अहिले नयाँ संरचना बनेको छ । हनुमान मन्दिर परिसरमा संरचना निर्माण गर्नुको उद्देश्य गंगा आरतीस्थल रहेकोे थियो । तर, यहाँ गंगा आरती लगाउने भनेर चार करोडमा धामिक संरचना निर्माण गर्न थालिएपछि अहिले अन्य सिंघीया बेशिनमै विभिन्न स्थानमा आरती आयोजना हुन थालेको छ ।
तर, मनमोहक देखिने विराटनगरमा अर्को सन्ध्याकालिन आरतीस्थलको निर्माण सम्पन्न उन्मुख भएको छ । विराटनगर–१९ मा महाशिव गंगा आरती र विराटनगर–१ मा परमार्थ सिंघीया आरतीले एकवर्ष भन्दा धेरै समय पार गरिसकेको छ । स्थानीय सरकार विराटनगर महानगरपालिकाले धार्मिक पर्यटक भित्र्याउने उद्देश्य राख्दै विराटनगर–२ हनुमान मन्दिरमा सन्ध्याकालिन आरतीस्थल निर्माणका लागि खर्चेको हो ।

यो हनुमान मन्दिर परिसरदेखि ठिक पारी कटहरी–१ जम्टोकीमा प्रदेशसभा सञ्चालन गर्ने तयारी गरिएको छ । योसँगै हनुमान मन्दिर परिसरको यो संरचनाको महत्व अझै बढेको छ । यो मन्दिर परिसरमा गणेश, राम, हुनमान, रामदेव बाबा, सिलता माता, बिश्वकर्मा र शिव मन्दिर निर्माण भएका छन् । त्यस बाहेक यहि परिसरमा धर्मशाला समेत निर्माण भइरहेको छ । विराटनगर महानगरपालिका इन्जिनियर सुजन श्रेष्ठका अनुसार ३ करोड ७२ लाख ८२ हजार रुपिँयामा यो निमाण सम्झौता भएको हो । अहिले यो परिसरको काम ९३ प्रतिशत सकिएको छ । अब यसको अन्तिम रंगरोगन र साजसज्जा मात्रै बाँकी रहेको छ । आरतीस्थल परिसरमा लाइटिङ लगायता जडान गरिसकिएको छ । यसको प्रारम्भिक परीक्षण समेत गरिएको छ ।
हनुमान मन्दिर परिसरमा महानगरपालिकाले ३ करोड ९८ लाख ११ हजार १२८ रुपैँयाको लागत अनुमान गरेको छ । विराटनगर महानगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गर्दै आएको आरतीस्थलको भौतिक संरचना सकिएको छ । मन्दिर परिसरमा विवाह मण्डव, आरती प्यावलेन, गेट, लाइटिङ, पोखरी, आरती कुण्ड लगायतका संरचनासहित मन्दिरहरु बनेका छन् । अभियान÷डिविशा जेभीले ३ करोड ९८ लाख ११ हजार १२८ मा निर्माण सम्झौता गरेको थियो । बहुवर्षे योजना अन्तर्गत २०७९ देखि ठेक्का पाएको कम्पनिले २०८१ माघसम्ममा यो योजना सम्पन्न गर्नु पर्ने थियो । तर, विविध कारणले म्याद थप हुँदै आएको छ ।
