विराटनगर । चिकित्सा शिक्षा आयोगद्वारा लिएको एमबीबीएस तहको एकीकृत प्रवेश परीक्षामा छात्रातर्फ नेपाल प्रथम हुने विराटनगरकी विभाकुमार नायकलाई नगद सहित सम्मान गरिएको छ । विराटनगरमा रहेको शिक्षादिप कलेजमा अध्ययनरत छात्रा विभाकुमारीलाई कलेजले बुधबार विहान एक कार्यक्रमको आयोजना गरी नगद ५१ हजार सहित सम्मान गरेको छ ।

छात्रातर्फ देशकै सर्वोत्कृष्ट स्थान हासिल गरेकी नायक सहित अन्य २ जना उत्कष्ट अंक ल्याउने विद्यार्थीलाई पनि विशेष सम्मान गरेको छ । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का लगायत अन्य शिक्षकहरु विद्यार्थीका अभिभावक सहित सम्मान गरेको थियो । आयोगले गत कात्तिक १५ गते सञ्चालन गरी मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार नायकले देशभरिका १७ हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै छात्रातर्फ सर्वोत्कृष्ट स्थान हासिल गरेकी हुन् ।
समग्र योग्यताक्रममा पनि उनले छैटौं स्थान ओगट्न सफल भएकी छिन् । यसैगरी, सोही कलेजका अन्य दुई विद्यार्थी श्रुति वरनवाल र पुष्पराज तिम्सिनाले पनि उत्कृष्ट नतिजा ल्याउँदै प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् ।

सम्मान ग्रहणपछि बोल्दै नायकले आफ्नो सफलताको श्रेय निरन्तरको लगनशीलता, कलेजको अनुशासित शैक्षिक वातावरण र गुरुहरूको कुशल मार्गदर्शनलाई बताईन् ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विभाको सफलताले कलेजको मात्र नभई पूरै विराटनगरको शिर उच्च बनाएको बताए । उनले भने, “हाम्रा एक दर्जनभन्दा बढी विद्यार्थीले यसपटक एमबीबीएस प्रवेश परीक्षामा नाम निकालेका छन, यो हाम्रो लागि गर्वको कुरा हो । हाम्रो लक्ष्य शिक्षादीपलाई देशकै नम्बर एक कलेज बनाउनु हो र यो नतिजाले हामीलाई थप ऊर्जा दिएको छ ।’’

उनले सम्पूर्ण सफल विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे । शिक्षादीप कलेजले विगतका वर्षहरूमा पनि यस्तै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । वि।सं। २०७९ मा पनि यसै कलेजकी छात्रा अदिती कुमारी जैनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा छात्रातर्फ टपर बन्ने गौरव प्राप्त गरेकी थिइन् । उनले २०० पूर्णाङ्कमा १७१.५ अंकसहित सर्वोत्कृष्ट नतिजा निकालेकी थिइन् ।