विराटनगर । मोरङको लेटाङमा गत असोज २१ गतेदेखि वेपत्ता भई कार्तिक ७ गते शव फेला परेको, १३ वर्षीया अंशु गौतम हत्यामा संलग्नको पहिचान जटिल बन्दै गएको छ । प्रहरीले वेपत्ता हुँदादेखि सुरु गरेको निरन्तर अनुसन्धान, शव फेलापछि अझै तिव्र रुपमा गरिरहेको छ । यो घटनाको अनुसन्धानका विभिन्न विधी अपनाइसकेको प्रहरी अहिले पोलिग्राफ परीक्षणमा लागेको हो । घटना अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता कोपिला चुडाँलका अनुसार अहिले पोलिग्राफ परीक्षणको चरणमा पुगेको हो ।
प्रहरीले पोलिग्राफ परीक्षण कार्य परिवारका सदस्यबाट थालेको छ । त्यसपछि क्रमशः अन्य व्यक्तिमा प्रयोग गर्ने कार्य गरिरहेको छ । लेटाङमा अंशु हत्या प्रकरण निर्मला पन्तको बलात्कार र हत्याको प्रकरणसँग मेल खाने स्थितिकै देखिएको छ । निर्मला पन्तको बलात्कार र हत्याको प्रमाणहरु नष्ट गरिएको स्थितिमा शव बरामद भएको थियो । त्यस्तै अंशुको समेत बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । यो प्रकरणमा समेत संलग्नले प्रमाण नष्ट हुने गरी शवको व्यवस्थापन गरेको पाइएको थियो । किनकी प्रहरीले शव बरामद गर्दा डिकम्पोज भइसकेको थियो । तर, कपडा र शव फरक–फरक भेटिएका कारण बलात्कारपछि हत्या भएको आशंका नजिक प्रहरी रहेको छ ।
वेपत्ता भएको ४२ दिन भइसकेको छ । शव फेला परेको पनि २४ दिन पुगिसकेको, यो समयसम्म अहिलेसम्म घटनामा संलग्न पक्राउ पर्न सकेका छैनन् । प्रहरी–प्रशासन अपारधीसम्म पुग्न सकेको छैन । अनेश शंका र उपशंका जन्माइदिएको पनि छ । प्रहरीले शंकाको घेरा तयार गरेरै अहिले अनुसन्धानमा पोलिग्राफ परीक्षणलाई बलियो आधारको रुपमा प्रयोग गर्न थालेको हो । पोलिग्राफ टेस्ट एक प्रकारको परिक्षण हो जसको प्रयोग आपराधिक मुद्दाहरुमा अभियुक्तबाट सत्य कुरा उकाल्नको लागि गरिन्छ । विश्वका विभिन्न देशका प्रहरीहरुले ठूला र अनुसन्धान गर्न जटिल आपराधिक घटनाहरुमा अभियुक्तको बयान लिन यो प्रविधिको प्रयोग गर्ने गर्छन् ।
पोलिग्राफ टेस्ट मेसिनलाई झुट समात्ने मेसिन भनिन्छ र यो ‘डिटेक्टर’को नामले पनि चिनिन्छ । यसको प्रयोगबाट प्राप्त हुने नतिजाको सत्यतामा ८०–९० प्रतिशत विश्वास गरिन्छ । व्यक्तिको पोलिग्राफ टेस्ट गर्न उसलाई सेन्सरद्वारा यो मेसिनसँग जोडिइन्छ र सेन्सर कम्प्युटरसँग कनेक्ट गरिएको हुन्छ । त्यसपछि व्यक्तिको रक्तचाप, मुटुको धड्कन्, श्वास एवम् हृदयको गति र शरीरमा हुने गतिलाई एक ग्राफ पेपरमा रेकर्ड गरिन्छ । यो प्रक्रियालाई नै पोलिग्राफ भनिन्छ । परिक्षण गरिने मानिससँग ६ वटा सेन्सर जोडिएको हुन्छ । परिक्षणमा व्यक्तिको मुटुको धड्कन, रक्तचाप, श्वासप्रश्वास, पसिनाको थैलीमा पर्ने चाप र शरीरमा हुने उतारचढाव आदि रेकर्ड गरिन्छ ।
प्रवक्ता चुडाँलका अनुसार घटना अनुसन्धान एकसय प्रतिशत नपुग्दासम्म यसैभन्न सकिने स्थिति छैन । जघन्य अपराधिक घटना भएका कारण प्रहरीले बहुआयमिक कोणबाट अनुसन्धान गरिरहेको दावी गरेको छ । गौतमको शव बरामद भएको स्थान बेलबारी–चिसाङ साझेदारी वन र उनी वेपत्ता भएको स्थान साढे चार किलोमिटर दुरीमा पर्दछ ।
प्रहरीले सबै क्षेत्रका विधी प्रयोग गर्दै आएको छ । घटना अनुसन्धानमा विशेष टोलि नै परिचालित छ । तर, पनि संलग्न यकिन गर्न प्रहरीलाई हम्बेहम्बे परिरहेको छ । अपराधमा संलग्न पनि व्यवसायिक हुनसक्नेतर्फ प्रहरी सचेत रहेको छ । त्यति मात्रै नभई संलग्न व्यक्तिले भुगोल समेत बुझेको हुनसक्ने अनुमान गरेको छ ।